logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

सर्लाहीको मौसम आज सफा, बिहानैदेखि घाम


  • उज्यालो अभियान

फाइल तस्बीर ।

लालबन्दी, २३ फागुन – सर्लाहीको मौसम आज बिहानैबाट सफा छ ।

यहाँ बिहान पातलो मात्रामा लागेको हुस्सु हटेर अहिले सबैभेगमा घाम लाग्न थालेको स्थानीयले बताएका छन् ।

यसअघि यहाँ हिजो बिहानपख पुस, माघको झैँ बाक्लो हुस्सु लागेर शित झरेको थियो । तर, आज फेरि मौसम सफा भई उघ्रिएर बिहानैबाट घाम लागिरहेको हो ।

चैत लाग्नै लाग्दा हावाहुरीको मौसम भने सुरु भएको छ । हिजोबाट दिउँसोपख हावा चल्न थालेको हो । हावा चल्न सुरु भएसँगै सुक्खापन अब झनै बढ्दै जाने स्थानीयले बताएका छन् ।

हावा चल्न थालेसँगै यहाँका कच्ची सडकहरुमा धुलो अत्यधिक उड्न थालेको छ । धुलोले सडक छेउछाउ घर भएका स्थानीय तथा यात्रु र मोटरसाइकल चालकहरु प्रभावित बन्न थालेका छन् ।

यस्तो मौसम हुँदा अब केही महिना हावाहुरी चलेर आगलागीको जोखिम धेरै नै हुने भएकाले सावधानी अपनाउन जानकारहरुले सुझाव दिएका छन् । काम सकिनासाथ चुल्होको आगो निभाउन, जथाभावी आगो नबाल्न, डढेलो नलगाउन उनीहरुको सुझाव छ ।

यहाँ बिहानपख केही मात्रामा चिसो भएपनि दिउँसोपख विस्तारै गर्मी चढ्दै गइरहेको छ । मौसम परिवर्तनकै कारण अहिले ज्वरो, रुघाखोकी, अपजजस्ता मौसम परिवर्तनजन्य रोगका बिरामी बढिरहेका छन् ।