logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

´मर्निङवाक` मा निस्केका पूर्व शिक्षक दाहालमाथि सांघातिक आक्रमण


  • उज्यालो अभियान

हरिवन, २३ फागुन – मर्निङवाकमा घरबाट निस्केका पूर्व शिक्षक अर्जुन दाहालमाथि सांघातिक आक्रमण भएकाे छ ।

हरिवन नगरपालिका-९, दनुवारी स्थित निवासबाट बुधबार बिहान पाैने ५ बजे निस्केका ६२ वर्षीय दाहालमाथि करिब १ किलाेमिटर पूर्व पूरानाेबजार आउने बाटाेमा आक्रमण भएकाे हाे । दाहालमाथि पछाडीबाट टाउकाेमा लाठिले प्रहार गरिएकाे अनुमान गरिएकाे छ ।

५ बजे तिर आक्रमणमा परेपछि लडिरहेका दाहाललाई केही समयपछि मर्निङवाकमै निस्केका स्थानीयले देखेपछि तत्काल उद्दार गरिएकाे थियाे । टाउकाकाे पछाडीकाे भाग र आँखामाथि चाेट लागेकाे ठाउँमा नमूना अस्पतालमा १६ वटा टाँका लगाउने सहित प्राथमिक उपचार पश्चात बिहानै थप उपचारका लागि वीरगंज स्थित वयाेदा अस्पताल लगिएकाे छ ।

गम्भीर घाईते दाहालकाे हाल उपचार चलिरहेकाे उनिसँगै रहेका खेम भट्टराईले जानकारी दिए । ´हरिवनमा हुञ्जेल त बाेल्नु नै भाकाे थिएन, मुख र नाकबाट पनि रगत बगिरहेकाे थियाे`, भट्टराईले भने, ´अहिले बाेल्न थाल्नु भएकाे छ र रगत पनि बग्न छाडेकाे छ ।` भट्टराईका अनुसार हाल दाहालकाे अवस्था खतरामुक्त रहेकाे वयाेदा अस्पतालका चिकित्सकले बताएका छन् । दाहालले लगाएकाे दुईवटा सुनकाे औंठी मध्य एउटा औंठी समेत आक्रमणकारीले लगेकाे भट्टराईले जानकारी दिए । सँधै एक्लै मर्निङवाकमा निस्कने दाहाललाई नजिकबाट चिने वा जानेकाे मान्छेले नै बाटाे ढुकेर आक्रमण गरेकाे स्थानीयले अनुमान गरेका छन् ।

घटना सम्बन्धमा गम्भीर ढंगले अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यालय हरिवनले जनाएकाे छ । ´घटनाबारे गम्भीर रुपमा अनुसन्धान गरिरहेका छाैं`, प्रहरी निरीक्षक अनिलराज गिरीले भने, ´घटनास्थलबाट सबैभन्दा नजिक रहेका चारैतिरका सीसीटिभी समेत हेर्दै छाैं ।`