बयलवास , २३ फागुन – सर्लाहीको ईश्वरपुरमा बोल्न नसक्ने एक बालिकालाई जवरजस्ती करणी गरी फरार रहेका एक युवक पक्राउ परेका छन् ।
ईश्वरपुर नगरपालिका–१०, स्थित फूलजोर खोलामा राम्ररी बोल्न नसक्ने १२ वर्षीया बालिकालाई जवरजस्ती करणी गरी गर्भवती बनाइ फरार रहेका ३५ वर्षीय टेके सार्की रम्तेललाई प्रहरीले ११ महिनापछि पक्राउ गरेको हो । ईश्वरपुर ८ रामपुरका रम्तेललाई लुकिछिपी बसिरहेको अवस्थामा घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीमा पीडित परिवारले दिएको जाहेरीमा रम्तेलले गएको वैशाख ७ गते बालिकालाई जवरजस्ती करणी गरेको उल्लेख छ । पीडित १२ वर्षीया बालिकाले जवरजस्ती करणीबाट बोकेको गर्भबाट पुस १५ गते छोरालाई जन्म दिएकी थिईन् । बालिकाले जन्म दिएको छोराको एक महिनापछि माघ १६ गते प्रादेशिक अस्पताल मलङ्गवामा उपचारका क्रममा मृत्यु भएको थियो ।
पीडित बालिकालाई अहिले सदरमुकाम मलङ्गवामा शान्ति महिला सेवा केन्द्रले सञ्चालन गरेको सेफ हाउसमा राखिएको छ । अभियुक्त रम्तेललाई सर्लाही जिल्ला अदालतबाट १० दिनको म्याद थप भइ जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखी अनुसन्धान भइरहेको कार्यालयको मुद्दा शाखाकी इन्चार्ज एवं प्रहरी निरीक्षक सङ्गीता पाण्डेले जानकारी दिईन् ।