लालबन्दी, २० फागुन – सर्लाहीको मौसम आज बिहानैबाट बदली भई धुम्म भइरहेको छ ।
यहाँ पानी पर्लाजस्तो भई जिल्लाभरकै मौसम धुम्मिएको हो । कतैकतै पानी छिट्याएको स्थानीयले बताएका छन् । यहाँ फागुन १० गते साँझपख पनि मौसम बद्ली भई केहीबेर हावाहुरी र चट्याङसहित उत्तरी भेगमा असिनासहित हल्का वर्षा भएको थियो ।
पर्याप्त वर्षा हुन नसक्दा सुक्खापन बढेर सबैतिर धुलो, धुँवाको प्रदुषण अत्यधिक छ । वन क्षेत्रमा डढेलो लाग्न सुरु भइसकेको स्थानीय बताउँछन् ।
पानी परे धुलो, धुँवाको प्रदुषण कम हुने अपेक्षा गरिएको छ । गएको असोज मध्यपछि राम्रोसँग वर्षा हुन नसक्दा खोला, खोल्सी, छहरामा पानी नभएर सुक्खा भएका छन् ।
खोलानाला सुक्दा किसानलाई हिउँदे बालीका लागि सिँचाईको समस्या परिरहेको छ ।
यसैबीच, अहिले देशका सबैजसो ठाउँमा बदली भएर कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको केही ठाउँमा पानी परिरहेको छ । अहिले देशमा पश्चिमी वायु सक्रिय रहेकोले पश्चिम नेपालमा पानी परिरहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
पश्चिमी क्षेत्रमा हिजोदेखि नै पानी परेको हो । यसपालिको हिउँदमा औसत भन्दा निकै कम पानी परेकोमा पछिल्लो २४ घण्टामा पश्चिमी क्षेत्रमा राम्रो वर्षा भएको मौसमविद् रोजन लामिछानेले बताए । आज दिउँसो देशभर नै बदली भएर सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बाग्मती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू–भागमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
बाँकी भूभागमा पनि छिटपुट पानी पर्ने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो ठाउँमा हिमपातको सम्भावना छ । भरे राति कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।
आज र भोलि पहाडी भूभागमा चट्याङ तथा हिमाली क्षेत्रका केही ठाउँमा बाक्लो हिमपात हुन सक्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । भोलिदेखि मौसम सुधार हुन थाल्ने मौसमविद् रोजन लामिछानेले बताए ।