लालबन्दी, २० फागुन – प्रथम लालबन्दी महोत्सवको समापन समारोह आज साँझ सम्पन्न भएको छ ।
समापन समारोहको औपचारिक कार्यक्रम सकिए पनि डान्सर प्रिती पासवानसहितका कलाकारको प्रस्तुति भने बाँकी नै रहेको आयोजक उद्योग वाणिज्य संघ लालबन्दीले जनाएको छ ।
महोत्सव समापन समारोहको संघका अध्यक्ष दीपेन्द्र कुमार बलम्पाकीको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाको विशिष्ठ आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा अतिथिसहित महोत्सव सफल बनाउन सहयोग गर्ने व्यक्ति तथा संघसंस्थालाई प्रशंसा पत्र तथा मायाको चिनो प्रदान गरी सम्मान गरिएको छ । लालबन्दी ६ स्थित राधाकृष्ण फुटबल चौरमा फागुन १० गतेदेखि सुरु भएको महोत्सव आज रातिबाट सकिन लागेको छ ।
उद्योग वाणिज्य संघ लालबन्दीका निवर्तमान अध्यक्ष कल्याणकुमार जोशीले महोत्सवमा आंकलन गरिएको भन्दा ३ गुणा बढी दर्शक आएकाले उत्साह थपिएको बताए । यो महोत्सवलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिइने उद्योग वाणिज्य संघ लालबन्दीले जनाएको छ ।