पत्थरकोट, १८ फागुन – प्रहरीले सर्लाहीको चुरेभेगस्थित नारायणखोलाबाट स्रोत नखुलेको १४ लाख रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१४, नारायणखोलाकै ४६ वर्षीय धनबहादुर पाख्रिन रहेका छन् । पाख्रिनलाई प्रहरी चौकी पत्थरकोटबाट खटिएको गस्ती टोलीले लालबन्दी १४ स्थित लखन्देही खोलाबाट नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक हरिबोल केसीले जानकारी दिए ।
नारायणखोलाबाट प्रदेश २–०३–०११ नम्वरको मोटरसाइकलमा पत्थरकोटतर्फ आइरहेका पाख्रिनलाई शङ्का लागि चेकजाँच गर्दा उनले बोकेको झोलाबाट स्रोत नखुलेको १४ लाख १० हजार रुपियाँ बरामद भएको प्रहरीले जनाएको छ ।
पाख्रिनले आफू गोरु व्यापारी भनी प्रहरीलाई परिचय खुलाएका छन् । बरामद भएको रकमको स्रोत खुलाउन नसकेपछि उनलाई थप अनुसन्धानका लागि आज बिहान जिल्ला भन्सार कार्यालय मलङ्गवा पठाइएको प्रहरी निरीक्षक केसीले बताए ।