logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

वनभित्रै काठ चिर्दै गरेका एक जना पक्राउ, काठ समेत बरामद


  • उज्यालो अभियान

पत्थरकोट, १६ फागुन – सर्लाहीको लालबन्दी नगरपालिका–११, हीरापुरस्थित लालबन्दी साझेदारी वनभित्र सालको रुख काटेर चिरान गर्दै गरेका एक जना पक्राउ परेका छन् ।

मंगलबार दिउँसोपख वन गस्ती टोलीले स्थानीय गजेन्द्र बहादुर श्रेष्ठलाई वनभित्रै काठ चिर्दाचिर्दै नियन्त्रणमा लिएको हो । काठ चिर्दै गरेका अन्य तीन जना व्यक्ति भने फरार भएका पत्थरकोट इकाइ वन पोष्टका प्राविधिक अमृतकुमार सापकोटाले जानकारी दिए ।

वन कर्मचारीले त्यस ठाउँबाट सालको ६ थान गोलिया (१५.४६ क्युफिट) र चिरान फल्ली ८ थान (२२.१६ क्युफिट) बरामद गरेका छन् । काठ चिरान गर्न प्रयोग गरिएको एक थान बन्चरो, दुई थान आरा, एक थान हँसिया, एक थान सुता घन्टी र एक थान छेउ कट्टा बरामद भएको वन कार्यालयले जनाएको छ ।

बरामद काठ, औजार र पक्राउ परेका व्यक्तिलाई लालबन्दीस्थित डिभिजन वन कार्यालयमा ल्याइ थप अनुसन्धान भइरहेको वन प्राविधिक सापकोटाले बताए ।