logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

फाेनिज सर्लाहीले पत्रकार महासंघलाई दियाे ७ दिने अल्टिमेटम


  • उज्यालो अभियान

नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री (बिचमा) लाई स्मरण पत्र बुझाउँदै फाेनिज सर्लाहीका पदाधिकारीहरु । (तस्बिर : उज्यालाे अभियान)

हरिवन, १५ फागुन – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सर्लाहीले नेपाल पत्रकार महासंघ केन्द्रीय समितिलाई ७ दिने अल्टिमेटम सहितकाे स्मरण-पत्र बुझाएकाे छ ।

मंगलबार दिउँसाे महासंघ सर्लाहीका अध्यक्ष टंक बहादुर क्षेत्री मार्फत केन्द्रीय समितिलाई स्मरण-पत्र बुझाईएकाे फाेनिज सर्लाहीका सचिब राजु लाे तामाङले जानकारी दिए । नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष समेत रहेका फाेनिज संघीय विधान समिति सदस्य शंकर श्रेष्ठ, फाेनिज सर्लाही अध्यक्ष घनश्याम बलम्पाकी, उपाध्यक्ष रिना आले र सचिब तामाङ लगायतले अध्यक्ष क्षेत्रीलाई अल्टिम सहित स्मरण पत्र बुझाएका हुन् । ´नेपाल पत्रकार महासंघको गलत इतिहास सच्याउन लामो समयदेखि संघर्षरत रहेको सर्वविदितै छ । तथ्य र प्रमाणका आधारमा नेपाल पत्रकार महासंघ (तत्कालीन नेपाल पत्रकार संघ) को संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुन् । श्रेष्ठलाई महासंघको संस्थापक अध्यक्ष कायम गर्न २०७९ सालमा नेपाल पत्रकार महासंघका सबै समितिमार्फत माग गरिएको थियो`, अल्टिमेटम पत्रमा भनिएकाे छ, ´तर, गलत इतिहास सच्याएर अग्रजको योगदानलाई सम्मान गर्न महासङ्घ तयार भएन। सर्वमान्य इतिहास स्वीकार्न नेपाल पत्रकार महासङ्घ तयार नभएका कारण गलत इतिहासलाई प्रश्रय दिने महासङ्घको नीतिविरुद्ध फोनिज निर्णायक आन्दोलनको चरणमा पुगेको छ। तसर्थ, ७ दिनभित्र सत्यनारायण बहादुर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष कायम गर्न माग गर्दछौँ । हाम्रो माग पूरा नभए नेपाल पत्रकार महासङ्घका केन्द्रसहित देशैभरका कार्यालयहरुमा अनिश्चितकालीन तालाबन्दी गरिने जानकारी गराउँदछौं ।`

फाेनिजकाे केन्द्रीय कार्यक्रम अन्तर्गत मंगलबार नेपाल पत्रकार महासंघका जिल्ला सहित सबै शाखाहरुलाई अल्टिमेटम सहितकाे स्मरण पत्र बुझाईएकाे विधान समिति सदस्य श्रेष्ठले जानकारी दिए । महासंघ सर्लाहीका अध्यक्ष क्षेत्रीका अनुसार फाेनिजबाट प्राप्त पत्र नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा समेत पठाईसकिएकाे छ ।