हरिवन, १५ फागुन – किसानको दुधको भुक्तानी दिन माग गर्दै सर्लाहीमा पनि प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएको छ ।
दुग्ध विकास संस्थान (डीडीसी) ले महिनौँदेखि दुधको पैसा नदिँदा किसान मारमा परेको भन्दै राष्ट्रव्यापी कार्यक्रम अन्तर्गत हिजो सर्लाहीमा पनि प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलामार्फत सरकारलाई ज्ञापन पत्र बुझाइएको हो । दुग्ध किसानको देशभरीको ६ अर्ब तथा सर्लाहीका किसानको ५० करोड दुधको भुक्तानी तत्काल दिन माग गर्दै किसान, सहकारीकर्मी, डेरी संचालक र उद्योगी मलंगवा पुगेर सीडीओमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको हरिवन निवासी डेरी संचालक सुरेश भट्टराईले बताए ।
भट्टराईले तत्काल दुधको पैसा नपाए पर्सी १७ गते हरिवनमा बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म चक्काजामको कार्यक्रम तय गरिएको जानकारी दिए ।
गाइभैँसीको दुध बेचेर दैनिकी धान्ने किसानलाई महिनौँसम्म पैसा नपाउँदा घर व्यवहार धान्न मुस्किल परिरहेको छ । डेरी संचालकहरुले पनि यो पेशामा टिकिराख्न मुस्किल परेको गुनासो गर्दै आएका छन् ।