रानिगन्ज, १४ फागुन – सर्लाहीको लालबन्दी नगरपालिका–१७, रानिगन्जस्थित वडा कार्यालय परिसरमा आज आयोजित एक दिने निःशुल्क आँखा शिविरमा ४८३ जनाको आँखा परीक्षण गरिएको छ ।
तीमध्ये ६७ जनामा मोतिया विन्दु फेला परेको आयोजक लायन्स क्लब अफ लालबन्दीका पूर्व अध्यक्ष चिरन्जीवी खतिवडाले जानकारी दिए । उनका अनुसार शिविरमा आँखाको समस्या भएका तीन सय भन्दा बढी बिरामीलाई निःशुल्क चश्मा र औषधि समेत वितरण गरिएको छ ।
शिविरबाट स्थानीय आँखाका बिरामीले लाभ लिएका नेपाली कांग्रेस लालबन्दी १७ का वडा सभापति बिभुसिंह थापाले बताए । यसअघि आइतबार परवानिपुरमा भएको आँखा शिविरिमा ४५६ जनाको आँखा परीक्षण गर्दा ६० जनामा मोतिया विन्दु फेला परेको छ । परवानिपुरमा दुई सय भन्दा बढीलाई चश्मा वितरण गरिएको थियो ।
त्यस्तै जानकी माविमा शनिबार भएको शिविरमा ३९१ जनाको आँखा परीक्षण गर्दा ९५ जनामा मोतिया विन्दु फेला परेको छ भने १५० भन्दा बढीलाई चश्मा प्रदान गर्नुपरेको थियो । तीनवटै स्थानको शिविरमा फेला परेका मोतिया विन्दुका बिरामीलाई फागुन १८ र १९ गते लालबन्दी ५ स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा लालबन्दीले सञ्चालन गरेको परोपकार आँखा उपचार केन्द्र जरुवा पानीमा निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको रेडक्रसका सभापति धु्रवप्रसाद घिमिरेले बताए ।
मोतिया विन्दुका बिरामीलाई तिलगङ्गा आँखा अस्पताल काठमाडौंबाट विशेषज्ञ ल्याएर शल्यक्रियाको तयारी गरिएको छ ।