हरिवन, १३ फागुन – प्रशासकीय अधिकृत राजकुमार थापाले आजबाट सर्लाहीको हरिवनस्थित इलाका प्रशासन कार्यालयमा बसेर नियमित सेवा प्रदान गर्न थालेका छन् ।
गृह मन्त्रालयले केही महिनाअघि नै थापालाई जिल्ला प्रशासन कार्यालय मलंगवाबाट सरुवा गरेर हरिवन पठाएको थियो । तर, मलंगवामा अधिकृत स्तरका कर्मचारीको अभावका कारण थापा यहाँ आउनबाट रोकिएका थिए ।
५ दिनअघि मलंगवाबाट औपचारिक बिदा भएका थापाले आजबाट कार्यालयमा बसेर नियमित सेवा प्रदान गर्न थालेको बताए । हरिवन नगरपालिका ११ निवासी थापा तत्कालिन हरिवन गाउँ विकास समिति (गाविस) को सचिव समेत थिए ।
इलाका प्रशासन कार्यालयमा हाजिर भएका थापालाई आज बिहान हरिवनमा उद्योगी, व्यापारी, राजनीतिज्ञ, जनप्रतिनिधिलगायत भएर स्वागत गरेका छन् । स्वागत कार्यक्रममा उद्योग वाणिज्य संघ हरिवनका अध्यक्ष प्रयागराज पोते, निवर्तमान अध्यक्ष मोहनलाल श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टी सर्लाहीका अध्यक्ष सुरेन्द्र लामा, हरिवन नगरपालिका ११ का वडाध्यक्ष शेष महबुब रेजा, इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरी लगायतको उपस्थिति रहेको थियो ।
सहभागीले थापालाई यहाँको परिस्थितिबारे राम्रोसँग ज्ञान भएकाले नागरिकलाई सहज हुने गरी सेवा प्रवाह गर्ने विश्वास व्यक्त गरेका छन् ।