बागमती, १२ फागुन – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बृहत शैक्षिक तथा साँस्कृतिक महोत्सवको उद्घाटन गर्न शनिबार अपरान्ह बागमती आइपुुगेका छन् ।

नेपाली सेनाको हेलिकप्टर चढेर आएका प्रधानमन्त्री प्रचण्डले बागमती नगरपालिकाले वडा नं. ११ स्थित स्वर्गिय सन्तोष श्रेष्ठ स्मृति खेल मैदान कर्मैयामा आयोजना गरेको एक दिने शैक्षिक महोत्सवको केहीबेरअघि उद्घाटन गरेका छन् । प्रधानमन्त्री प्रचण्ड दिउँसो २ बजे नै आइपुुग्ने भनिए पनि २ घण्टा ढिलो गरी अपरान्ह ४ बजे आइपुुगे ।
कर्मैयास्थित फुटबल चौरदेखि उत्तर हेलिकप्टर ल्याण्ड गर्ने बित्तिकै नगरप्रमुख भरतकुमार थापा, प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलालगायतले प्रधानमन्त्री प्रचण्डलाई स्वागत गरे ।
अहिले सातै प्रदेशको भेषभुुषा र पहिचान झल्कने नृत्य चलिरहेको छ ।

सिरहामा पुल उद्घाटनपछि प्रधानमन्त्री प्रचण्ड सर्लाही आइपुुगेका हुुन् । प्रधानमन्त्री प्रचण्डसँगै सहरी विकास मन्त्री सीता गुरुङ पनि यहाँ आएकी छन् ।
नगरको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत आयोजित शैक्षिक महोत्सवमा तीन हजार विद्यार्थी र करिव १५ हजार अभिभावकलाई सहभागी गराइएको बागमती नगरपालिकाले जनाएको छ ।

महोत्सवमा सातै प्रदेशको सँस्कार, सँस्कृति झल्किने ८६ मिनेटसम्मको लगातार नृत्य प्रस्तुत गरिँदै छ ।
शैक्षिक तथा साँस्कृतिक महोत्सवलाई भव्य बनाउन बागमती नगरपालिकाले तीन महिनाअघि देखि तयारी गरिरहेको थियो ।
तस्बीर : जनार्जन खत्री