logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बागमतीमा भोली हुने शैक्षिक महोत्सवको तयारी पूरा, उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड आउँदै


  • उज्यालो अभियान

बागमत, ११ फागुन – सर्लाहीको बागमती नगरपालिकाले भोली पहिलो पटक आयोजना गरेको बृहत शैक्षिक तथा साँस्कृतिक महोत्सवको तयारी पूरा भएको छ ।

बागमती नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले महोत्सवको लगभग तयारी पूरा भइसकेको आज साँझ उज्यालो अभियानसँग बताए । । नगरको शैक्षिक गुणस्तर सुधार अभियान अन्तर्गत ३ हजार विद्यार्थी र करिव १५ हजार अभिभावक सहभागी गराई शैक्षिक तथा साँस्कृतिक महोत्सव आयोजना गर्न लागिएको बागमती नगरपालिकाले जनाएको हो ।

बागमती नगरपालिका–११, कर्मैयास्थित स्व. सन्तोष श्रेष्ठ स्मृति खेल मैदानमा आयोजना हुने एक दिने महोत्सवको भोली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्दै छन् । महोत्सवको उद्घाटन गर्न प्रधानमन्त्री प्रचण्ड भोली दिउँसो २ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत बागमती आउने बुझिएको छ । बागमतीस्थित सेनाको ब्यारेकमा हेलिकप्टर ल्याण्ड भएपछि उनले फुटबल चौरमा पुगेर महोत्सवलाई सम्वोधन गर्ने छन् ।

विद्यार्थीलाई गुणस्तरीय पठनपाठनसँगै उनीहरुको सर्वागिण विकासका लागि समाजको मौलिकता, संस्कार, सँस्कृतिका बारेमा पनि ज्ञान दिन आवश्यक ठानेर शैक्षिक तथा साँस्कृतिक महोत्सव आयोजना गर्न लागिएको बागमती नगरपालिकाले जनाएको छ ।

महोत्सवमा ३ हजार विद्यार्थीले सातै प्रदेशको सँस्कार, सँस्कृति झल्किने ८६ मिनेटसम्मको लगातार नृत्य प्रस्तुत गर्ने छन् ।