logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

कार्यसम्पादनमा देशमै हरिपूर्वाको सबैभन्दा कम अंक, सर्लाहीमा ईश्वरपुर प्रथम


  • उज्यालो अभियान

हरिवन, ११ फागुन – प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश सरकार र स्थानीय तहको कार्यसम्पादन मूल्यांकन सार्वजनिक गरेको छ ।

यो कार्यसम्पादन मूल्यांकन अघिल्लो आर्थिक वर्षको बजेट कार्यान्वयन, सोही वर्ष गर्नुपर्ने अन्य विभिन्न काम लगायतका आधारमा गरिएको हो । मूल्यांकन अनुसार सर्लाहीको हरिपूर्वा नगरपालिकाले देशभरमै सबैभन्दा कम ५.९९ नम्बर मात्र पाएको छ । सबैभन्दा बढी अर्घाखाँचीको सन्धिखर्क नगरपालिकाले ६१.८१ अंक प्राप्त गरेको छ ।

हरिपूर्वा नगरपालिकाले गत फागुन ७ गते मात्र नगरसभा सम्पन्न गरेको छ । राजनैतिक खिचातानीका कारण हरिपूर्वा नगरपालिकाले असार मसान्त भित्र ल्याउनुपर्ने २०८०/०८१ को बजेट गत फागुन ७ गते मात्र नगरसभा मार्फत पास गरेको हो ।

त्यस्तै सर्लाहीका २० वटा पालिका मध्ये सबैभन्दा बढी ईश्वरपुर नगरपालिकाले ३६.१६ अंक प्राप्त गरेको छ भने चक्रघट्टा गाउँपालिकाले ३१.६४ अंक ल्याएको छ । त्यसैगरि गोडैता नगरपालिकाले ३०.५६, लालबन्दी नगरपालिका २९.७५, बागमती नगरपालिका २८.४९, कौडेना गाउँपालिका २७.८७, ब्रह्मपुरी गाउँपालिका २५.०६, हरिवन नगरपालिका २४.७०, पर्सा गाउँपालिका २४.५२ र बसबरिया गाउँपालिकाले २४.०९ अंक पाएको छ ।

त्यस्तै बलरा नगरपालिकाले २३.५७, बरहथवा नगरपालिका २३.२४, रामनगर गाउँपालिका २३.११, विष्णु गाउँपालिका २२.१७, मलंगवा नगरपालिका २१.८५, धनकौल गाउँपालिका २०.६३, कबिलासी नगरपालिका १९.७८, हरिपुर नगरपालिका १९.२७ र चन्द्रनगर गाउँपालिकाले ११.५२ अंक प्राप्त गरेको छ । चन्द्रनगर गाउँपालिकाकाले गाउँसभा गर्न नसक्दा अहिलेसम्म २०८०/०८१ को बजेट ल्याउन सकेको छैन । त्यहाँ गापा अध्यक्ष राजकुमार महतो सहित केही वडाध्यक्ष बाहेक बहुमत गाउँसभा सदस्यहरुको अवरोधका कारण बजेट आउन नसकेको हो ।