logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

ईश्वरपुरमा १९ हजार बढी बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइने


  • उज्यालो अभियान

बयलवास, ११ फागुन – सर्लाहीको ईश्वरपुर नगरपालिकामा १९ हजार भन्दा बढी बालबालिकालाई दादुरा रुबेलाविरुद्धको खोप लगाइने भएको छ ।

राष्ट्रव्यापी रुपमा संचालन गर्न लागिएको दादुरा रुबेला खोप अभियान अन्तर्गत यही फागुन १६ गतेदेखि २२ गतेसम्म ईश्वरपुर नगरपालिकामा पनि ९ महिनादेखि १५ वर्षसम्मका १९ हजार ७२५ जना बालबालिकालाई दादुरा रुबेलाको खोप लगाइन लागेको नगरपालिकाको स्वास्थ्य शाखा संयोजक सुगेन्द्र महतोले जानकारी दिए । उनका अनुसार बालबालिकालाई विद्यालयहरुमा पुगेर, खोप केन्द्र तथा स्वास्थ्य संस्थाबाट खोप लगाइने छ ।

सोही अभियान अन्तर्गत आज नगरपालिका कार्यालयमा नगर स्तरीय खोप समन्वय समितिका पदाधिकारी, स्वास्थ्य संस्थाका इन्चार्ज, कर्मचारी र संचारकर्मीलाई अभिमुखीकरण प्रदान गरिएको छ । स्वास्थ्य शाखा संयोजक महतोका अनुसार खोप अभियान संचालनका लागि यसअघि शिक्षकहरुलाई अभिमुखीकरण र खोप कार्यकर्तालाई तालिम दिइसकिएको छ ।

अब वडा–वडामा गएर वडा स्तरीय खोप समन्वय समितिका पदाधिकारी र महिला स्वयंसेविकालाई अभिमुखीकरण प्रदान गरिने स्वास्थ्य शाखा संयोजक महतोले बताए ।

फागुन १३ गते सदरमुकाम मलंगवामा औपचारिक उद्घाटन हुने दादुरा रुबेला खोप अभियान फागुन १६ देखि २२ गतेसम्म सर्लाहीका २० वटै पालिकामा संचालन हुने छ ।