मलंगवा, फागुन १० – सर्लाहीको मौसम आज दोस्रो दिन पनि धुम्म भइरहेको छ ।
यहाँको मौसम हिजो देखि नै बद्ली भएर पानी पर्लाजस्तो भई धुम्मिएर राम्रोसँग घाम देखा पर्न सकेको छैन् । हिजो दिनभर नै एकैछिनमा मौसम धुम्मिने र एकैछिनमा घाम लाग्ने भइरह्यो ।
आज पनि त्यस्तै छ । मौसम धुम्मिए पनि यहाँ चिसो भने धेरै हदसम्म कम भइसकेको छ । दिउँसोपख विस्तारै गर्मी चढ्न थालिसकेको छ । बिहान–बेलुका र रातको समयमा भने अझै चिसो नै छ ।
यस क्षेत्रमा गएको असोजदेखि पानी नपर्दा धुलो, धुँवाको प्रदुषण व्यापक मात्रामा बढ्दो छ । जिल्लाका भित्री कच्ची सडकमा धुलोले स्थानीय वासिन्दा र यात्रीलाई सताउन थालेको छ ।
पानी नपर्दा खोला तथा जरुवामा पानी घट्दा गहुँ, मकै, लसुन, प्याजलगायतका हिउँदे बालीनालीलाई सिँचाईको समस्या बढ्न थालेको किसानले गुनासो गरेका छन् ।