लालबन्दी, ६ फागुन – लालबन्दी नगरपालिकाले भूमिहिन दलित, भूमिहिन सुकुम्वासी र अव्यवस्थित बसोवासीका लागि जग्गा वितरणमा सहजीकरण गरिदिन माग गर्दै आज जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।
वन ऐन र भूमि ऐन बाझिँदा जग्गा नापचाँजको सबै काम सकेर लालपूर्जा वितरण गर्न लाग्दा समस्या उत्पन्न भएको भन्दै लालन्दी नगरपालिकाले सरकारलाई ज्ञापन पत्र बुझाएर ध्यानाकर्षण गराएको हो । लालपूर्जा तयार पारेर मालपोत कार्यालयमा मालपोत अधिकृतकहाँ हस्ताक्षर गर्न लैजाँदा ऐन बाँझिएको भन्दै हस्ताक्षर गर्न नमानेकाले अन्तिमको काम रोकिएपछि सो सम्वन्धी गाँठो फुकाइदिन माग गर्दै प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलामार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापन पत्र बुझाइएको लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष कृष्णकुमार कार्की (गोपाल) ले जानकारी दिए ।
ज्ञापन पत्र बुझाउन मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिन, विभिन्न वडाका वडाध्यक्षलगायत सदरमुकाम मलंगवा पुगेका थिए ।
बाझिएका कानूनी खारेज, रोक्का गरिएको कार्य फूकुवा र अव्यवस्थित बसोवासीको जग्गा दर्ता प्रक्रिया अघि बढाइदिन माग गर्दै सरकारलाई ज्ञापन पत्र बुझाइएको लालबन्दी नगरपालिकाका प्रवक्ता एवं वडा नं. १६ का वडाध्यक्ष गणेशबहादुर थापाले बताए ।