लालबन्दी, ३ फागुन नगर अस्पताल लालबन्दीमा २९ जना महिलाले परिवार नियोजन स्थायी बन्ध्याकरण गराएका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीको आर्थिक सहयोग, मेरी स्टोप्सको प्राविधिक सहयोग र लालबन्दी नगरपालिकाको आयोजनामा बुधबार नगर अस्पतालमा राखिएको एक दिने निःशुल्क परिवार नियोजन स्थायी बन्ध्याकरण शिविरमा २९ जना महिलाले मिनिल्याप स्थायी बन्ध्याकरण सेवा लिएका हुन् । शिविरमा स्थायी बन्ध्याकरणका लागि पुरुष भने नआएका नगर अस्पतालले जनाएको छ ।
४६ जना महिलाले नाम दर्ता गराए पनि तौल कम तथा बढी भएका, रक्तश्राव भइरहने, पाठेघरमा इन्फेक्सन देखिएका, भर्खरै सुत्केरी भएका जस्ता कारणले १७ जना महिलाको भने स्थायी बन्ध्याकरणका लागि शल्यक्रिया गर्न नसकिएको नगर अस्पतालका इन्चार्ज एवं स्त्री रोग विशेषज्ञ डा. रामविश्वास रायले जानकारी दिए । उनका अनुसार स्थायी बन्ध्याकरण गरिएका महिलामध्ये एक जना बर्दिवास र एक जना मलङ्गवाका बाहेक अन्य सबै लालबन्दी नगरपालिकाभित्रका हुन् ।
शिविरमा मेरी स्टोप्सका स्त्री रोग विशेषज्ञ डा. सुरेश शाक्य नेतृत्वको टोलीसहित नगर अस्पताल लालबन्दीका स्त्री रोग विशेषज्ञ डा. राय नेतृत्वको टोलीले स्थायी बन्ध्याकरण सेवा प्रदान गरेको हो । लालबन्दीमा यसअघि गत वर्ष दुई दिनसम्म यस्तै प्रकारको शिविर राख्दा ११ जनाले मात्रै स्थायी बन्ध्याकरण गराएका थिए ।
यो वर्ष भने नगरपालिकाको स्वास्थ्य शाखासहित मातहतका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी क्रियाशील भएर लागिपरेकाले सेवाग्राही बढेका नगर अस्पतालका इन्चार्ज डा. रायले बताए ।