logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

घारिबथानको पिपलदमारमा टेलिकमको टावर राखिदिन संचार मन्त्रीसँग आग्रह


  • उज्यालो अभियान

घारिबथान, ३ फागुन – विकट क्षेत्रमा पर्ने ईश्वरपुर नगरपालिका वडा नं. १२ घारिबथानको पिपलदमारमा नेपाल टेलिकमको टावर राखिदिन संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मासँग आग्रह गरिएको छ ।

जिल्लाको उत्तर–पूर्वी चुरेभेगस्थित सिन्धुली र महोत्तरीसँग सीमा जोडिएको पिपलदमारमा टेलिकमको नेटवर्क नआउँदा स्थानीय संचार सम्पर्कविहीन रहेकाले जनप्रतिनिधिसहितको टोली काठमाडौंँ गएर मन्त्री शर्मासँग भेट गरी यस विषयमा ध्यानाकर्षण गराएको हो । घारिबथानकै चौकीडाँडामा टेलिकमको टावर भएपनि त्यो टावरले पिपलदमार र शिर फूलजोर क्षेत्रसम्म नेटवर्क नआउने स्थानीयले बताएका छन् ।

नेटवर्क नटिप्दा विकट गाउँका स्थानीय संचार सम्पर्कविहीन रहेकाले आज मन्त्रालयमै पुगेर मन्त्री शर्मासँग भेट गरी यो विषयमा जानकारी गराइएको ईश्वरपुर १२ का वडाध्यक्ष देविबहादुर खत्रीले जानकारी दिए । भेटमा मन्त्री शर्माले जतिसक्दो चाँडो त्यस क्षेत्रमा टावर राख्ने प्रतिवद्धता व्यक्त गरेको वडाध्यक्ष खत्रीले बताए ।

सडक समेत नपुगेको पिपलदमार क्षेत्रका स्थानीय बाँके खोलाको बगर हुँदै र शिर फूलजोर क्षेत्रका स्थानीय फूलजोर खोलाको बगरबाट आउजाउ गर्दै आइरहेका छन् । त्यस क्षेत्रमा हिउँदमा मोटरसाइकल, जीप, ट्याक्टर र बस चल्ने गरेपनि वर्षायाममा खोलाबाढी आउँदा पैदल आउजाउ समेत ठप्प हुने गरेको स्थानीयको भनाई छ ।

यि विषयमा पनि सरकारको प्रवक्ता समेत रहेकी मन्त्री शर्मालाई अवगत गराइएको छ । मन्त्री शर्मा र मन्त्रालयका सचिव रामकृष्ण सुवेदीसँग भेट गर्न हरिवन नगरपालिकाका नगरप्रमुख रमेश बुढाथोकी (कमल), ईश्वरपुर १२ का वडाध्यक्ष खत्रीसहितको टोली सिंह दरबार पुगेको थियो ।