logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

जंगल क्षेत्रमा प्रशारण लाइनको काम धमाधम चल्दै


  • उज्यालो अभियान

बाँके, २ फागुन – हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रशारण लाइन अन्तर्गत सर्लाही र महोत्तरी खण्डमा धमाधम काम हुन थालेको छ ।

विशेष गरी यि दुई जिल्लाको जङ्गल क्षेत्रमा तार विस्तारको कामले गति लिएको हो । सर्लाहीको फूलजोर चोकदेखि पूर्व र महोत्तरीको बर्दिवासदेखि पश्चिमतर्फको जङ्गलमा अहिले काम जारी रहेको हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी प्रशारण आयोजना ढल्केबर कार्यालयका प्रमुख श्याम यादवले जानकारी दिए ।

दुई जिल्लाको जङ्गल क्षेत्रमा प्रशारण लाइनको टावर निर्माण भइसकेको छ । ती टावरमा अहिले इन्सुलेटर जडान गर्ने र तार तान्ने काम भइरहेको आयोजनाले जनाएको छ । प्रशारण लाइनको टावरमा राख्नका लागि पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाही र महोत्तरी खण्डको जङ्गल क्षेत्रका ठाउँठाउँमा इन्सुलेटरको पोका झारिएका छन् ।

आयोजना प्रमुख यादवका अनुसार अहिले जनशक्तिलाई दुई जिल्लाको जङ्गल क्षेत्रमा ‘फोकस’ गरेर खटाइएको छ । “सर्लाही र महोत्तरीको जङ्गल क्षेत्रमा केन्द्रित भएर काम गरिरहेका छौँ,” आयोजना प्रमुख यादवले भने“ त्यहाँ यसअघि नै टावर निर्माण गरिसकेका अब तार राख्न मात्रै बाँकी छ ।”

प्रशारण लाइनको लालबन्दी नगरपालिका–१२, जियाजोर क्षेत्रमा बाँकी रहेको टावर निर्माण गर्ने काम समेत अन्तिम चरणमा पुगिसकेको आयोजना प्रमुख यादवले बताए । जग्गाको मुआब्जा वितरणको विषयलाई लिएर स्थानीयबाट अवरोध हुँदा सात वर्षदेखि जियाजोर क्षेत्रमा काम रोकिएको थियो ।

आयोजनाका अनुसार यस ठाउँमा आठ वटा टावरको जग खन्न बाँकी थियो भने तीनवटा टावरको जग राखिसकेर टावर उठाउने काम मात्रै बाँकी थियो । डेढ महिनादेखि सुरक्षाकर्मीको सहयोग लिएर ती बाँकी टावर निर्माणको काम पूरा हुन लागेको छ तर मुआब्जाको विवाद भने अझै मिलिसकेको छैन् ।

जियाजोरका स्थानीयले तार पर्ने जग्गाको उचित मुआब्जा दिनुपर्ने माग गर्दै आइरहेका छन् ।

मुआब्जाको विषयमा प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारी, आयोजनाका अधिकारी, जनप्रतिनिधि र स्थानीय वासिन्दाबीच पटक–पटक छलफल भएपनि सहमती जुट्न सकेको छैन् ।