लालबन्दी – नेपाली कांग्रेसका केन्द्रिय सदस्य गणेश लामाले सर्लाहीका आम नागरिकको समस्या ‘टिपोट’ गरेर केन्द्रमा लैजाने बताएका छन् ।
‘समुदायमा कांग्रेस’ अभियानको सर्लाही प्रतिनिधि भएर आएका लामाले बुधबार साँझ अबेर लालबन्दीमा नेपाल प्रेस युनियन सर्लाही शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यहाँका आम नागरिकले भोग्नु परेको समस्या समाधानका लागि शिर्षस्त नेताहरुलाई लगेर सुनाउने बताएका हुन् । यहाँका कृषकका समस्या, मिटरब्याजी पीडितका पिडा, प्रमुख प्रशासकीय अधिकृतको तुरुन्त सरुवा हुने परिपाटीलगायतको विषयमा आवश्यक परे प्रधानमन्त्री कहाँ डेलिगेसन जानुपरे त्यसको समेत नेतृत्व गर्ने कांग्रेस केन्द्रिय सदस्य लामाले बताए ।
उनले कांग्रेसले नै नेतृत्व गरिरहेको हरिपूर्वा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको समस्या समाधानका लागि आफूले यहाँबाट जाने बित्तिकै पहल गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले यहाँका जनताले के चाहेका छन् ? र जनप्रतिनिधिले के गरिरहेका छन् ? भन्ने कुरा बुझ्न आफू यहाँ आएको उल्लेख गरे ।
कांग्रेस केन्द्रिय सदस्य लामाले आफू सर्लाहीमा आएपछि बुधबार मात्रै मलंगवामा पार्टीको फरक समूहका पूर्व जिल्ला सभापति नागेन्द्र राय, लक्ष्मण राय र वर्तमान जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंहलगायतलाई एकैठाउँमा राखेर कार्यक्रम गर्न सफल भएको भन्दै यो अभियानले पार्टीलाई समेत बलियो र एकतावद्ध बनाउन मद्धत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
आफू माघ २६ गतेसम्म सर्लाहीमै रहेर विभिन्न वडामा पुगी जनताका गुनासा, सल्लाह, सुझाव टिपोट गर्ने र ती विषय समाधानका लागि पार्टी सभापति, महामन्त्रीलगायत सम्वन्धित ठाउँमा गएर राख्ने बताए ।
प्रेस युनियन सर्लाहीका सभापति कृष्णप्रसाद थपलियाको अध्यक्षतामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, नेपाली कांग्रेस बागमती प्रदेशको प्रशिक्षण विभागका सदस्य सचिव रामेश्वर ढकाल, कांग्रेस नेता शेरबहादुर योन्जन, तरुल दल बागमती प्रदेशका पूर्व सदस्य रमेश लामालगायतको उपस्थिति रहेको थियो ।
कांग्रेसले हिजो माघ १६ गतेबाट समुदायमा कांग्रेस अभियानको शुभारम्भ गरिसकेको छ । यसै अभियानको शिलशिलामा कांग्रेस महामन्त्री गगनकुमार थापा बिहीबार साँझ हुलाकी सडक भएर महोत्तरी हुँदै सर्लाही सदरमुकाम मलंगवा आइपुग्दै छन् ।