logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

बाक्लो हुस्सु र तुसारो कायमै, चिसोले सर्वसाधारण प्रभावित


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा आज पनि बिहानैबाट बाक्लो हुस्सु लागेर अत्यधिक चिसो हुँदा जनजीवन प्रभावित बनेको छ ।

यस क्षेत्रमा गएको ४ दिनदेखि निरन्तर बाक्लो हुस्सु र तुसारो झरेर कठ्यांग्रिदो चिसो हुँदा मानिसको दैनिकी कष्टकर बनिरहेकोे हो । हिजो दिउँसोपख मौसम उघ्रिएर केहीबेर घाम लागेको थियो । तर, आज फेरि अहिले बिहानपख ५० मिटर अगाडिको दृश्य देख्न मुस्किल पर्ने गरी बाक्लो हुस्सु लागेर बाहिर निस्कँदा भिज्ने गरी तुसारो परेको छ ।

आज बिहान ७ बजेको समयमा सर्लाहीको तापक्रम ११ डिग्री सेल्सीयस मापन गरिएको छ । चिसोले विशेष गरी मजदुर, किसान, अति विपन्न र पिछडिएको दलित परिवार बढी प्रभावित बनेका छन् ।

चिकित्सकले चिसोबाट जोगिन बाक्लो हुस्सु र स्याँठ चलेका बेला घरमै बस्न, बालबालिका र वृद्धवृद्धाको बढी ख्याल गर्न, झोलिलो र ताता खानेकुरा खान सुझाव दिँदै आएका छन् । चिसो छल्न स्थानीयहरु घर, चोक, बजारमा आगो बालेर तापिरहेका हाम्रा संवाददाताले जनाएका छन् ।

बाक्लो हुस्सु र तुसारोले तरकारी तथा अन्य बाली प्रभावित बनेका छन् । पशुपालक किसानलाई बाख्रापाठा, गाई, भैँसीसहित अन्य चौपाय र पंक्षी जोगाउन समस्या परेको छ ।

प्रहरीले बाक्लो हुस्सु लागेको समयमा ‘भिजिविलिटी’ कम भई सवारी दुर्घटनाको जोखिम धेरै हुने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ ।