logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

ईश्वरपुरमा आयोजित ४ दिने मोतिया विन्दु अप्रेसन शिविर सकियो, ४०८ जना लाभान्वित


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुरस्थित नगर अस्पताल बयलवासमा आयोजित ४ दिने मोतिया विन्दुको अप्रेसन शिविरमा मोतिया विन्दु देखिएका ४०८ जनाको अप्रेसन गरिएको छ ।

ईश्वरपुर नगरपालिकाले भरतपुर आँखा अस्पतालसँग समन्वय गरी वडा नं. ६ स्थित नगर अस्पतालमा गरेको शिविरमा २०५ जना महिला र २०३ जना पुरुषको आँखामा देखिएको मोतिया विन्दुको शल्यक्रिया गरिएको हो ।

पुस २२ गतेदेखि सुरु भएको अप्रेसन शिविरको आज समापन गरिएको छ । अब भोली बिहान भरतपुरबाट आएका चिकित्सकलाई बिदाई गरिने छ ।

नगर अस्पतालसहित हरिपुर र हरिपूर्वामा समेत निःशुल्क आँखा शिविर राखेर झण्डै १८ सय जनाको आँखा परीक्षण गरेर ४०८ जनाको मोतिया विन्दुको अप्रेसन गरिएको हो ।

त्यस्तै, १३ जनाको आँखामा मासु पलाएकाको समेत शल्यक्रिया गरिएको डाक्टर पुष्पा गिरी श्रेष्ठले बताईन् । भरतपुर आँखा अस्पतालको ईतिहासमै पहिलो पटक १५१ जनाको एकैदिन, एकै जना डाक्टरबाट मोतिया विन्दुको शल्यक्रिया समेत भएको भरतपुर आँखा अस्पतालका बाहृय कार्यक्रम संयोजक रमेश घिमिरेले जानकारी दिए ।

चश्माको मात्रै सय रुपैयाँ लिइएको र औषधि, आँखा जाँच र अप्रेसन निःशुल्क गरिएको ईश्वरपुर आँखा उपचार केन्द्रका उपाध्यक्ष प्रकाश मैनालीले बताए ।

शिविरमा सर्लाहीका विभिन्न ठाउँसहित भारतबाट समेत बिरामी उपचारका लागि आएका छन् ।