मंगलबार बिहान लालबन्दी बजारस्थित पूर्व-पश्चिम राजमार्गको को दृश्य । (तस्बीर : उज्यालो अभियान)
लालबन्दी – आज पनि सर्लाहीमा बिहानैबाट बाक्लो हुस्सु लागेर कठ्यांग्रिदो चिसो छ ।
यहाँ लगातार ३ दिनदेखि मौसम यस्तै रहेर अत्यधिक चिसो भइरहेको हो । अस्ती आइतबार दिउँसोपख केहीबेर घाम लागेपनि हिजो सोमबार दिनभर मौसम उघ्रिएन । आज पुनः बिहानैदेखि तुसारो झरेर बाक्लो हुस्सु लाग्दा मानिसलाई घरबाहिर निस्कन समस्या छ ।
सोले मजदुर, गरिब र अतिविपन्न परिवारको दैनिकी निकै कष्टकर बनेको छ । विद्यालय जाने बालबालिका पनि प्रभावित बनेका छन् । केही पालिकामा जाडो बिदा सुरु भएपनि धेरै ठाउँमा अहिले आन्तरिक परिक्षा चलिरहेको विद्यालयहरुले जनाएका छन् ।
यस्तो मौसममा सकेसम्म घरमै बसेर न्यानो हुन, ताता र झोलिला खानेकुरा प्रशस्त खान, वृद्धवृद्धा, स–साना बालबालिका र अशक्त व्यक्तिको बढी ख्याल गर्न चिकित्सकले सुझाव दिएका छन् ।
बढ्दो चिसो छल्न स्थानीयहरु आ–आफ्नो घर तथा चोक, बजारमा आगो बालेर तापिरहेको देखिन्छ । कठ्यांग्रिदो चिसोले पशुपंक्षी समेत प्रभावित बनेका पशुपालक किसानले बताएका छन् ।
हुस्सु र तुसारोले बालिनाली प्रभावित हुन थालेका छन् । अत्यधिक बाक्लो हुस्सु लाग्दा सवारी साधन आवागमनमा समस्या परेको छ ।
हुस्सुले ५० मिटर अगाडिको दृश्य समेत प्रष्ट देखिएको छैन् । नवलपुरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयले यस्तो मौसममा सवारी दुर्घटनाको जोखिम धेरै हुने भएकाले सावधानी अपनाउन पैदलयात्री र सवारी चालकसँग अनुरोध गरेको छ ।
यो समयमा सवारी साधन कम गति र बत्ती बालेर गुडाउन ट्राफिक प्रहरीले आग्रह गरेको छ ।