logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

बरहथवा घटना : युवकको शव आज राति पनि घटनास्थलमै रहने, छलफल निष्कर्षविहीन


  • उज्यालो अभियान

बरहथवा – अस्पताल स्तरोन्नतिको विवादमा भएको झडपमा शुक्रबार दिउँसो प्रहरीको गोली लागेर मृत्यु भएका सर्लाहीको बरहथवाका जयशंकर साहको शव आज रातभर पनि घटनास्थलमै रहने भएको छ ।

शव व्यवस्थापन गर्ने र प्रदर्शन रोक्ने विषयमा आज साँझ अबेरसम्म इलाका प्रहरी कार्यालय बरहथवाको परिसरमा प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलासहित जिल्लाका सुरक्षा अधिकारी समेतको सहभागितामा भएको छलफलमा कुनै निष्कर्ष ननिस्किएपछि मृतक युवकको शव दोस्रो रात पनि घटनास्थलमै रहने भएको हो । भोली बिहान ८ बजेपछि पुनः छलफल गरिने भएको छ ।

शुक्रबार दिउँसो करिव ३ बजेतिर गोली लागेर मृत्यु भएका युवकको शव बरहथवा ५ स्थित विद्युत् प्राधिकरण कार्यालय छेउको चोर्निया पुलमै छ ।

मृतकलाई शहीद घोषणा गर्नुपर्ने, मृतकको नामबाट प्राथमिक स्वास्थ्य केन्द्र बरहथवाको नामकरण हुनुपर्ने, बरहथवाका मेयरले राजिनामा दिनुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा स्तरोन्नति गरी ५० बेडको बनाउन मधेश प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने मागसहित युवकको शव २ दिनदेखि घटनास्थलबाट उठाइएको छैन् ।

सरकारले छानविन टोली गठन गरेर मृतकको परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको छ । तर पनि बरहथवा शान्त बन्न सकेको छैन् ।

सीडीओसहितको टोलीले आज साँझ बरहथवा आएर प्रदर्शनकारी र मृतकका परिवारसँग पनि भेटेका छन् ।