केही समय पहिला हरिवनको उत्तरी चुरे क्षेत्रमा देखिएको हात्ति । (तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय मलंगवा)
हजारबिघा – जङ्गली हात्तीले आज बिहानपख सर्लाहीको हरिपुर नगरपालिका–१, हजारबिघामा व्यापक क्षति पुर्याएको छ ।
बिहान ३ बजेतिर दुईवटा जङ्गली हात्ती हजारबिघास्थित जङ्गल नजिकको बस्ती र किसानको खेतबारीमा पसेर क्षति पुर्याएका वडाध्यक्ष नानिबाबु थापाले जानकारी दिए । हात्तीले स्थानीय उदय कानुको घरका बेराघेरा भत्काएर घरभित्र राखिएको अन्नपात खाइदिएको वडाध्यक्ष थापाले बताए ।
प्रत्यक्षदर्शीका अनुसार दुईवटा अत्यन्त अग्ला हात्ती देखा परेका छन् । हात्तीले स्थानीय किसानले लगाउको मकै, उखुलगायतका बालीनाली खुँदेर अत्यधिक क्षति पुर्याएको वडाध्यक्ष थापाले बताए ।
विगत चार दिनदेखि जाकीनगर र मूर्तिया वनको आसपासका बस्तीमा दुईवटा जङ्गली हात्तीले आतङ्क मच्चाइरहेका छन् । दिनभर नजिकको जङ्गलमा सुतेर बस्ने हात्ती रात पर्नासाथ बस्ती र खेतबारीमा पसेर उपद्रो मच्चाउने गरेका छन् ।
हात्तीले अघिल्लो रात हरिपुर १ का सन्तबहादुर मोक्तानको केरा खेतीमा व्यापक क्षति गरेको थियो भने बरहथवा ९ मूर्तिया पैतालिस बिघामा दुईवटा घर र बालीनालीमा क्षति पुर्याएका थिए ।