फूलजोर – सुक्खा बढेर खेतबारीमा घाँस पाउन छाडेपछि सर्लाहीका बाख्रापालक किसान वनको घाँसमा निर्भर हुन थालेका छन् ।
यहाँको प्रत्येक वनमा अहिले घाँस काट्ने तथा दाउरा सङ्कलन गर्नेको बाक्लो चहलपहल देखिन्छ । जिल्लाको फूलजोर, बाँके, सागरनाथ, लालबन्दी, जानकीनगर, मूर्तियालगायतका वनमा हिजोआज घाँस, दाउराका लागि पुग्नेहरु बढेका हुन् ।

सुक्खा क्षेत्र रहेको उत्तरी भेगका खेतबारी बाँझो भएका छन् । यो बेला खसीबाख्राका लागि घाँस लिन स्थानीयहरु साइकल, मोटरसाइकल र टेप्पु लिएर जङ्गल पुग्ने गरेका छन् ।
अरुबेला सवारी साधनको मात्रै ओहोरदोहोर हुने बाँके जङ्गल क्षेत्रमा अहिले घाँस तथा दाउरा लिन पुग्नेको लाम बढेको छ । ईश्वरपुर नगरपालिका–५, सखुवनीका किसान शियाशरण यादवले खेतबारीको घाँस सक्किएपछि जङ्गलमा हरियो घाँस खोज्दै आइपुगेको उज्यालो अभियानलाई सुनाए ।
यादवका अनुसार अब बैशाख, जेठसम्म बाख्रापाठालाई हरियो घाँस जुटाउन मुस्किल पर्छ । जिल्लाको उत्तरी तथा पश्चिमी भेगका किसानले खरखर्च जुटाउने उद्देश्यले खसीबाख्रा पाल्ने गरेका छन् ।
माघ मध्यसम्म जङ्गलमा धेरथोर घाँस पाउने भएपनि त्यसपछि वनमा पनि डढेलो लाग्ने गरेको लालबन्दी नगरपालिका–६, का बाख्रापालक किसान खिलबहादुर कार्कीले बताए । हिजोआज अधिकांश जङ्गलकै घाँसमा भर पर्न थालेकाले जङ्गलमा समेत घाँस पाउन मुस्किल रहेको उले बताए ।
सुक्खा बढेको बेला पारेर यहाँको प्रत्येकजसो जङ्गलमा दाउरा सङ्कलन गर्ने पुग्नेहरु बढेका छन् । न्यून आयआर्जन भएका अभिभावक आफ्ना स–साना बालबालिकालाई लिएरै दाउरा सङ्कलनका लागि जङ्गल पुग्ने गरेका छन् ।

हरिपुर नगरपालिका–१, का वडाध्यक्ष नानिबाबु थापाले जानकीनगर तथा मूर्तिया क्षेत्रको वनमा हिजोआज घाँस, दाउरा गर्न पुग्ने बढेका जानकारी दिए ।
घाँस, दाउरा गर्ने मानिसको चहलपहल बढेपछि जिल्लाको वन क्षेत्रमा केही मात्रामा रहेका हरिण, बँदेल, निलगाईलगायतका जङ्गली जनावर मानिसको चहलपहल र हल्लाखल्लाले तर्किएर दौडिन थालेका छन् ।