लालबन्दी – लालबन्दी नगरपालिका वडा नं. ९ मा आज (बुधबार) ज्येष्ठ नागरिकलाई वडा कार्यालयले हिटर वितरण गरेको छ ।
बढ्दो चिसोलाई मध्यनजर गरी वडा कार्यालयले वडाभित्र सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका ज्येष्ठ नागरिकलाई हिटर उपलब्ध गराएको हो । १०१ वर्षका दुई जना ज्येष्ठ आमासहित ६८ वर्षमाथिका १६१ जना ज्येष्ठ नागरिक र ६० वर्षमाथिका तीन जना दलित ज्येष्ठ नागरिकलाई हिटर वितरण गरिएको वडा सचिव झटककुमारी खत्री (अनिसा) ले जानकारी दिईन् ।
१०१ वर्षीया हेमकुमारी पोखरेल र डोरमाया दाहाललाई घरमै पुगेर दोसल्ला ओढाएर हिटरसँगै सम्मान–पत्र प्रदान गरी सम्मान गरिएको वडा कार्यालयले जनाएको छ । अन्य ज्येष्ठ नागरिकलाई भने वडा कार्यालयमै बोलाएर हिटर बाँडिएको वडा सदस्य विनोद तिमल्सिनाले बताए ।
वडा अध्यक्ष नारायण अधिकारी, वडा सदस्यहरु तिमल्सिना, हरिमाया बस्नेत, ललिताकुमारी भुजेल, भिमबहादुर थापा मगर र वडा सचिव खत्री भएर हिटर वितरण गरेका हुन् ।
चिसो मौसममा वडा कार्यालयले हिटर वितरण गरेपछि ज्येष्ठ नागरिकले खुसी व्यक्त गरेका छन् ।