फाइल तस्बीर ।
हरिवन – सर्लाहीमा आज बिहानैबाट बाक्लो हुस्सु लागेर कठ्यांग्रिदो चिसो छ ।
यहाँ आजबाट बाक्लो मात्रामा हुस्सु लागेर शित झर्न सुरु भएको हो । हुस्सुले नजिकैको दृश्य समेत देख्न मुस्किल छ ।
जिल्लाको सबैभेगमा आज बिहानदेखि बाक्लो मात्रामा हुस्सु लागेर शित झरिरहेको स्थानीयले बताएका छन् । तराई–मधेश क्षेत्रमा पुस मध्य भएपछि आजबाट बाक्लो हुस्सु लागेर शितलहर चल्न सुरु भएको हो ।
हिजोसम्म यस क्षेत्रमा दिनभर पारिलो घाम लागेर न्यानो हुने गरेको थियो । तर आजबाट मौसम बद्ली भएर बाक्लो हुस्सु लाग्न थालेर कठ्यांग्रिदो चिसो हुन थालेको हो ।
चिसो बढेपछि अतिविपन्न, मजदुर र किसान प्रभावित हुन थालेका छन् । यस्तै, वृद्धवृद्धा, बालबालिका र अशक्त व्यक्त पनि एक्कासी चिसो बढेपछि प्रभावित बनेका छन् ।
चिकित्सकले बाक्लो हुस्सु लागेको, शित झरेको र स्याँठ चलेका बेला सकेसम्म घरभित्र न्यानो भएर बस्न र ताता तथा शक्तिवद्र्धक खानेकुरामा जोड दिन सुझाव दिएका छन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीले बाक्लो हुस्सु लागेको अहिलेको समयमा नजिकैको दृश्य देख्न मुस्किल परेर सवारी दुर्घटनाको जोखिम हुने भएकाले पैदलयात्रीलाई पैदल हिँड्दा तथा चालकलाई सवारी साधन चलाउँदा ध्यान दिन आग्रह गरेको छ ।