नवलपुर – सर्लाहीका मिटरब्याज पीडितले आज पूर्व–पश्चिम राजमार्गस्थित नवलपुर चोकमा प्रदर्शन गरेका छन् ।
प्रहरीले नियन्त्रणमा लिएको मिटरब्याज पीडितलाई रिहा गर्न माग गर्दै मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समिति सर्लाहीले आन्दोलन सुरु गरेको हो । अनुचित लेनदेनको छलफलका क्रममा मिटरब्याजी आरोपी (साहु) माथि हातपात गरेको र महिला प्रहरीमाथि समेत दुव्र्यवहार गरेको आरोपमा प्रहरीले हिजो दिउँसो जिल्ला प्रशासन कार्यालयबाट लालबन्दी नगरपालिका २ नवलपुर निवासी फतिमा खातुनलाई पक्राउ गरेको थियो ।
प्रहरीले खातुनलाई पक्राउ गरेपछि महिलासहितको समूहले जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गरेको थियो । सो प्रदर्शनका क्रममा प्रहरीको गाडी तथा जिल्ला प्रशासन कार्यालयमा ढुङ्गामुढा र प्रहरीमाथि चप्पल प्रहार भएको थियो । प्रहरीले अश्रुग्यास र हवाइ फायर गरेर भीडलाई भगाएको थियो । त्यसक्रममा प्रहरीमाथि ढुङ्गामुढा गरेको आरोपमा प्रहरीले चन्द्रनगर गाउँपालिकाका तैयब मन्सुरलाई समेत नियन्त्रणमा लियो ।
सङ्घर्ष समितिका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएपछि आक्रोशित भएका पीडितले आज पूर्व–पश्चिम राजमार्गस्थित नवलपुरमा आएर नाराबाजीसहित प्रदर्शन गरेका हुन् । पीडितहरु पूर्व–पश्चिम राजमार्गमा केहीबेर चक्काजाम गरेर नवलपुर–मलङ्गवा सडकमा टेन्ट गाडेरै धर्ना बसेका छन् । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समिति सर्लाहीकी अध्यक्ष रुक्मिणी चौधरीले पक्राउ परेका फतिमा र तैयबलाई छाड्न भनी आज दिउँसो जिल्ला प्रहरी कार्यालय मलङ्गवामा छलफल गर्न गएपनि प्रहरीले दुवै जनालाई छाड्न नसक्ने जवाफ दिएको बताइन् । उनले पक्राउ परेका दुवै जनालाई नछाडेसम्म सडक आन्दोलन जारी राख्ने बताईन् ।
सर्लाही प्रहरीले तैयब र फतिमा दुवैलाई सर्लाही जिल्ला अदालतबाट प्रहरीमाथि दुव्र्यवहारको आरोपमा पक्राउ गरेर कारवाही चलाइएकाले तत्काल छाड्न नमिल्ने बताएको छ । मिटरब्याज पीडित र साहुबीच छलफल गराएर धमाधम मिलापत्र भइरहेको अवस्थामा हिजोको घटनापछि पीडित र स्थानीय प्रशासनबीचको दुरी बढेको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीका अनुसार सर्लाहीमा अनुचित लेनदेन(मिटरब्याज) सम्बन्धी दुई हजार ३१८ वटा उजुरी परेका छन् । जसमध्ये एक हजार ५५७ उजुरीमाथि छलफल भएको छ ।
त्यसमध्ये ६२३ वटा उजुरी फस्योट भएर मिलापत्रमा टुङ्गिएका छन् । ती उजुरीमा मिटरब्याजी साहुहरुबाट ऋणीसँग ५४ करोड ८ लाख २२ हजार ७३३ रुपियाँ माग दाबी भएकोमा २३ करोड २१ लाख १९ हजार ९७४ रुपियाँमा सहमति भएको छ । साहुले हडपेका पीडितका २० बिघा भन्दा धेरै जग्गा ऋणीलाई फिर्ता गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।