हरिपूर्वा – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सर्लाहीको हरिपूर्वा नगरपालिकामा तीन महिनापछि पुनः उपसचिव शम्भुप्रसाद यादवलाई नै प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाएको छ ।
उपसचिव यादव बुधबार कार्यालयमा आएर हाजिर भएका छन् । यादव यसअघि पनि दुई पटक यसै नगरपालिकामा हाजिर हुँदा केही घण्टामै सरुवा भएको थियो ।
उनको बैशाख १७ गते हाजिर भएको एक घण्टामै र असोज १७ गते हाजिर भएको २४ घण्टामै जिम्मेवारी खोसिएको थियो । नगरप्रमुख विनोदकुमार साह तेली प्रमुख प्रमुख प्रशासकीय अधिकृत माग्दै कयौँ पटक मन्त्रालय धाएर उपसचिव यादवलाई तेस्रो पटक प्रमुख प्रशासकीय अधिकृतका रुपमा सरुवा गराएर ल्याउनु भएको हो ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा हरिपूर्वा नगरपालिकाले नगर सभा गर्न सकेको छैन् । प्रमुख प्रशासकीय अधिकृतको अभाव टरेपनि यहाँ जनप्रतिनिधिबीच टकराब समेत छ ।
नगरप्रमुख तेलीले ठूलो लडाइँ गरेर प्रमुख प्रशासकीय अधिकृत लिएर आएको र चाँडै सहमती जुटाएर नगर सभा गर्ने बताए । तेलीले एक महिनाअघि यहाँ सरुवा गरिएका उपसचिव बासुदेव खनाल आउन नमानेपछि मन्त्रालयले शम्भुप्रसाद यादवलाई पठाएको बताए ।
यादवको यो बीचमा रौतहटको देवाही गोनाही नगरपालिकाबाट धनुषाको नगराईन नगरपालिकामा सरुवा भएपनि बीचमै फेरि हरिपूर्वामा सरुवा गरेर पठाइएको हो । नगर सभा नहुँदा शिक्षक, कर्मचारीले गएको साउनदेखि तलब सुविधा पाउन सकेका छैनन् ।
नगरभित्रका शिक्षकले तलब माग गर्दै १३ दिनसम्म नगरपालिकामा धर्ना बसेका थिए । नगरप्रमुख साहले एक महिनाभित्र तलब खुवाउने प्रतिवद्धता जनाएपछि शिक्षकहरुले आन्दोलन स्थगित गरेर अहिले भने नियमित पठनपाठन सन्चालन गरिरहेका छन् ।
बजेट पारित नहुँदा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एक महिलालगायतले साउनदेखि नै सामाजिक सुरक्षा भत्ता पाउन सकेका छैनन् । विकास निर्माणका काम ठप्प छ ।
नगरप्रमुख तेलीले अब फेरि पनि प्रमुख प्रशासकीय अधिकृतलाई तुरुन्त सरुवा नगरे यि सबै समस्याको निकास निकाल्दै जाने बताए । तर यो पटक पनि मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतलाई तत्कालै जिम्मेवारी खोस्ने हो की भन्ने चिन्ता रहेको नगरप्रमुख तेलीले बताए ।