लालबन्दी – सर्लाहीको लालबन्दी नगरपालिका र हरिवन नगरपालिकामा पनि आज (बुधबार) एकैसाथ नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् ।
लालबन्दी नगरपालिकामा उपसचिव वसन्त न्यौपाने हाजिर भएका हुन् । लालबन्दी नगरपालिका ७ कै स्थानीय वासिन्दा रहेका न्यौपानेको मिथिला नगरपालिका ढल्केबर, धनुषाबाट लालबन्दी सरुवा भएको हो । न्यौपानेले गएको वर्ष सर्लाहीकै हरिपूर्वा नगरपालिकामा केही महिना प्रमुख प्रशासकीय अधिकृत भएर चलाएका थिए ।
उनलाई नगरप्रमुख बासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, वडाध्यक्षहरु र कर्मचारीले कार्यालयमा स्वागत गरेका छन् । कामकाज गर्न असहज भएको र समन्वय नगरेको भन्दै नगरप्रमुख अधिकारीले यसअघिका उपसचिव धर्मानन्द जोशीलाई मंसिर १५ गते काज फिर्ता पठाएका थिए ।
मन्त्रालयले स्थानीय जनप्रतिनिधिको आग्रह अनुसार नै लालबन्दीका वासिन्दा उपसचिव न्यौपानेलाई नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा पठाएको हो ।
यस्तै, हरिवन नगरपालिकामा उपसचिव देवेन्द्र सापकोटा हाजिर भएका छन् । मन्त्रालयले उपसचिव सापकोटालाई बाजुराको बडीमालिका नगरपालिकाबाट यहाँ सरुवा गरेर पठाएको हो ।

उनलाई नगरप्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, वडाध्यक्षहरु र कर्मचारीले स्वागत गरेका छन् ।
गएको कात्तिक ३ गते उपसचिव सुरेन्द्र प्रधान सरुवा भएर गएपछि हरिवन नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहनी बनेको थियो । दुई महिना बढी प्रमुख प्रशासकीय अधिकृत नहुँदा तलब, भत्ता निकासा हुन सकेको थिए ।
तीन दिनअघि मलंगवा नगरपालिकामा पनि नयाँ प्रमुख प्रशासकीय अधिकृतका रुपमा पुनः उपसचिव होमप्रसाद सुवेदी हाजिर भएका थिए ।