मोटरसाइकलमा दन्किरहेको आगो । (तस्बीर सौजन्य : जितेन्द्र सिंह कुशवाहा)
बागमती – नयाँरोड बरहथवा सडकमा पर्ने धरहरा जङ्गलमा आगो दन्किरहेको अवस्थामा एउटा नम्वर खुल्न नसकेको मोटरसाइकल फेला परेको छ ।
बागमती नगरपालिकास्थित हिजो दिउँसोपख जङ्गलमा केही युवा झगडा गरिरहेको र मोटरसाइकलमा आगजनी समेत भएको भनी वस्तुभाउ चराउन गएका गोठालाले प्रहरीमा खबर गरे । प्रहरी चौकी धरहरा ढुंग्रेखोलाबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।
सो जंगलको आँप खोल्सी भन्ने ठाउँ नजिक प्रहरी टोली पुग्दा घटनास्थलमा कोही व्यक्ति फेला परेनन् । तर मोटरसाइकलमा भने आगो दन्किरहेको पाइएको डीएसपी दीपेन्द्र पन्जियार थारुले बताए ।
आगजनीबाट मोटरसाइकल पूर्णरुपमा जलेकाले नम्वर नखुलेको र धनी पनि नभेटिएका उनले बताए । गोठालाले एक युवकमाथि कुटपीट भई उनले हारगुहार मागेपछि आफूहरुले हो–हल्ला गरेर झगडा छुट्याएको बताएका थिए । तर आफूमाथि कुटपीट भयो भनी कोही पनि आज बिहानसम्म प्रहरी कार्यालयमा नआएका डीएसपी थारुले उज्यालो अभियानसँग बताएका छन् ।
प्रहरीले मोटरसाइकल धनीको खोजी तथा घटनाको अनुसन्धान अघि बढाएको छ ।