बयलवास – मैनाली समाज नेपाल जिल्ला कार्य समिति सर्लाहीको आज १० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
समितिका जिल्ला अध्यक्ष केदारनाथ मैनालीको अध्यक्षतामा ईश्वरपुर नगरपालिका ६ स्थित गल्ला व्यापार संघको सभा हल बयलवासमा साधारण सभा सम्पन्न भएको हो । साधारण सभाको अवसरमा नारायण माध्यमिक विद्यालय बयलवासका ६ देखि १० कक्षासम्मका एक जना छात्र, एक जना छात्रा गरी १० जना जेहेन्दार तथा अतिविपन्न विद्यार्थीलाई जनही ५ हजार नगदसहित कदर–पत्र प्रदान गरी सम्मान गरिएको समाजले जनायो ।
त्यस्तै, मैनाली समुदायबाट गत वर्षको एसइइमा उत्कृष्ट अंक ल्याउने सामुदायिक विद्यालयतर्फ तीन जना र निजी विद्यालयतर्फ दुई जना गरी ५ जनालाई समेत नगद तथा कदर–पत्रबाट सम्मान गरिएको कार्य समितिका सदस्य डिल्लीप्रसाद मैनालीले जानकारी दिए । मैनाली समाज नेपालले ‘एक घर एक आजिवन सदस्य’ अभियान अन्तर्गत हालसम्म २८४ जनाले आजिवन सदस्यता लिएका छन् ।
समाजले सामाजिक कार्य अन्तर्गत निकट भविष्यमा रक्तदान कार्यक्रम आयोजना गर्ने तथा लालबन्दीस्थित निर्माणाधीन राधाकृष्ण वैदिक गुरुकुलमको भवनका लागि आर्थिक सहयोग गर्ने सभाबाटै निर्णय गरेको गरेको छ ।
सभामा नारायण मा.वि. का प्रधानाध्यापक फणिराज बराल, कुटुमेली समाजका सुशीलकुमार थपलिया, शिवकृष्ण उप्रेती, उज्वल शर्मा, रत्न प्रसाई, खगेन्द्र पौडेललगायतको आतिथ्यता रहेको थियो ।