logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

इन्दु शंकरले क्रसिङ सुरु गर्यो, ३५ लाख क्विन्टल उखु पेल्ने लक्ष्य


  • उज्यालो अभियान

इन्दुशंकर चिनी उद्योगमा ल्याएको उखु टायरगाढाबाट झार्दै गरेका किसान । (तस्बीर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवनमा रहेको इन्दुशंकर चिनी उद्योगले आज (शुक्रबार) बाट उखु क्रसिङ गर्न सुरु गरेको छ ।

जिल्लाका उखु किसानले हिजोबाट आन्दोलन रोकेसँगै इन्दुशंकरले आजबाट उखु पेल्ने काम सुरु गरेको हो । किसानले धमाधम मिलमा उखु ल्याउन सुरु गरेका छन् । मिल चल्न ढिला हुँदा किसानको खेतमै उखु सुक्न थालिसकेको थियो ।

मिलका उखु प्रवन्धक योगनारायण रजकले आज बिहान साँढे १० बजेपछि मिल संचालन गरिएको जानकारी दिए । उनका अनुसार उद्योगले यो वर्ष ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ ।

गएको वर्ष २८ लाख २० हजार क्विन्टल उखु क्रसिङ गरिएको थियो । उद्योगले केही साताअघि नै उखु क्रसिङ सुरु गर्न डोंगा पूजा गरेपनि उखु किसानले आन्दोलन थालेपछि तत्कालका लागि क्रसिङ रोकेका थियो ।

मिल संचालन भएसँगै किसानलाई उखु ल्याउनका लागि धमाधम चलान बाँड्ने काम भइरहेको उद्योगका प्रशासकीय प्रमुख ठाकुर नेपालले बताए । सर्लाहीका तीनवटा चिनी मिलमध्ये इन्दुशंकरले किसानलाई समयमै भुक्तानी दिँदै आएको छ ।

भुक्तानीमा आलटाल गर्ने महालक्ष्मी चिनी उद्योग बगदहले पनि धमाधम उखु पेलिरहेको छ भने अन्नपूर्ण चिनी मिल धनकौल संचालन हुनै बाँकी छ ।

सरकारले यो वर्षका लागि उखुको मूल्य ६३५ रुपैयाँ निर्धारण गरेको छ ।

सर्लाहीका अगुवा उखु किसानले आजै जिल्ला प्रशासन कार्यालयमा पुगेर प्रमुख जिल्ला अधिकारीसँग चिनी मिल र सरकारबाट बेलैमा उखुको भुक्तानी दिलाई दिन माग गरेर फर्किएका छन् ।