जानकीनगर – सर्लाहीको हरिपुर नगरपालिका–१, जानकीनगरमा रहेको हरिहर जनता आधारभूत विद्यालयमा आज विद्यार्थीलाई निःशुल्क रुपमा टिफिन बक्स वितरण गरिएको छ ।
विद्यालयको व्यवस्थापन समितिका पदाधिकारी र शिक्षकहरु मिलेर कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने सम्पूर्ण ८३ जना विद्यार्थीलाई टिफिन बक्स दिएका हुन् । ति टिफिन बक्स आज हरिपुर १ का वडाध्यक्ष नानीबाबु थापा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष होमराज काफ्ले, प्रधानाध्यापक शम्भुकुमार यादवलगायत भएर वितरण गरे ।
कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई विद्यालयमै दिवा खाजा खुवाउने गरेको भएपनि ६ देखि ८ सम्मका विद्यार्थीलाई खाजा नहुँदा टिफिनपछि विद्यालय छाडेर जाने गरेकाले उनीहरुले घरबाटै खाजा ल्याउन भनेर टिफिन बक्स बाँडिएको विद्यालयका शिक्षक योगिराज पोखरेलले जानकारी दिए ।