प्रतिकात्मक तस्बिर ।
नवलपुर – नवलपुर मलङ्गवा सडकखण्ड अन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा गएसाँझ (मंगलबार साँझ) मिनिट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा हरिपुर नगरपालिका–७, चिताईनका ५० वर्षीय रुदल कुमर (दनुवार) को मृत्यु भएको हो । नवलपुरबाट साइकलमा घरतर्फ जाँदै गरेका कुमरलाई सडकमा साइकलसहित लडेपछि उठ्न खोज्दा पछाडिबाट तीव्र गतिमा आएको प्रदेश २–०४–००१ क ००१४ नम्वरको मिनिट्रकले ठक्कर थियो ।
दुर्घटना लगत्तै कुमरलाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनायो । कुमर सासापुरको डाबरीस्थित इँटा भट्टामा मजदुरी गरेर घर फर्किदै गर्दा दुर्घटनामा परेका हुन् ।
साइकल यात्रीलाई ठक्कर दिएर फरार भएको मिनिट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खोज्दै जाँदा उक्त मिनिट्रक दुर्घटना भएको करिव चार घण्टापछि जुटपानी पानी फ्याक्ट्रीको रहेको खुलेको र राति नै फ्याक्ट्रीभित्रै राखिएको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनायो ।