हरिवन नगरपालिका-१, अत्रौली स्थित मोहम्मद नसरुल हकको खेतमा काट्न ढिलाई हुँदा सुकेको उखु । (तस्बिर : उज्यालो अभियान)

ईन्दुशंकर चिनी उद्योगमा लैजान काटेपनि उखु किसान सम्बद्ध विभिन्न संघ संगठनको आन्दोलनका कारण उद्योग बन्द भएपछि हरिवन नगरपालिका–३, सासापुर स्थित रामआश्रय चौधरीको खेतमा काटेर थुपारेको उखु । (तस्बिर : उज्यालो अभियान)
टंक बहादुर क्षेत्री/हरिवन, ०४ पुस – उखु किसान सम्बद्ध विभिन्न संघ संगठनको जारी आन्दोलनका कारण उद्योगमा उखु नलान चेतावनी आएपछि हरिवन नगरपालिका-४ स्थित रामआश्रय चौधरीले काटेको उखु खेतमै पत्करले छोपेर राखेका छन् । चौधरी जस्तै अझै कतिपय किसानको काटेको उखु खेतमै सुकेर बसेको छ ।
हरिवन नगरपालिका-१, अत्रौलीमा ९ विगाहामा उखु खेती गरेका किसान मोहम्मद् नसरुल हकले काट्न ढिलाई हुँदा तेस्रो वर्षे खुटी उखु सुक्दै जान थालेको गुनासो गरे । ‘कहिल्य चल्छ हजुर ईन्दुशंकर चिनी उद्योग ? उखु त सुकेर जान थाल्यो’, सर्लाहीको मलंगवा नगरपालिका अन्तर्गत भाँडसर निवासी हकले उज्यालो अभियानसँग उल्टै प्रतिप्रश्न राख्दै भने, ‘खुटी उखु काट्न ढिलाई हुँदा सुक्दै गएको छ अनि अर्को बाली लगाउनलाई पनि ढिलो हुने भो ।’
तेस्रो बर्षे खुटी उखु जतिसक्दो छिटो काटेर बिक्री गर्न तथा उखु काटेको खेतमा गहुँ, मुसुरो लगायत विभिन्न बालीहरु लगाउन किसानलाई चटारो छ । तर उखुको भुक्तानी गर्न मुलुकमै सबैभन्दा राम्रो छवी बनाएको सर्लाहीको हरिवन स्थित ईन्दुशंकर चिनी उद्योग सञ्चालनमा नआएपछि उत्तरी क्षेत्रका त्यस्ता किसानहरु निकै मारमा परेका छन् । चलानपूर्जी पाएपछि किसानले काटेको ७ हजार क्वीन्टल भन्दा बढी उखु किसान नेताहरुको ज्ञापनपत्र पश्चात उद्योगले डोंगा छेउमा थुपारेर राखेको छ । उखु लिएर आएका एक दर्जन हाराहारी सवारी साधन ईन्दुशंकर चिनी उद्योग भित्र त्यतिकै थन्किएको उद्योगका प्रशासकीय अधिकृत ठाकुर नेपालले जानकारी दिए ।
उखुको मुल्य लगायत यावत विषयमा असहमति जनाउँदै उखु किसान सम्बद्ध विभिन्न संघ संगठनले हरिवन बजारमा आन्दोलन जारी राखेपछि ईन्दुशंकर चिनी उद्योग पुस पहिलो साता बित्न लाग्दा समेत सञ्चालनमा आउन सकेको छैन । चिनी उद्योगहरु मध्ये मुलुकमै सबैभन्दा राम्रो भुक्तानी प्रकृया रहेको र सबैभन्दा बढी उखु क्रसिङ गर्दै आईरहेको ईन्दुशंकरले चालु सिजनका लागि गत मंसिर २१ गते डोंगा पूजा गरेर २६ गतेदेखि उद्योग सञ्चालन गर्ने तयारी सहित किसानलाई चलानपूर्जी समेत बाँडेको थियो ।
तर नेपाल उखु उत्पादक महासंघ, मिलगेट उखु उत्पादक समिति हरिवन, किसान हकहित संरक्षण समिति हरिवन लगायत संघ संगठनले उद्योग व्यवस्थापनलाई ज्ञापन पत्र बुझाएर उद्योग नचलाउन चेतावनी दियो । उनीहरुले सर्लाहीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कोमल प्रसाद धमलालाई समेत मुल्य तय लगायत यावत विषयमा सम्बोधन नभएसम्म उद्योग सञ्चालन नगर्न र सरकारसँग समन्वयको पुलको काम गर्न आग्रह सहित सीडीओ धमलालाई ज्ञापन पत्र दिए ।
भारतीय सीमावर्ती क्षेत्र स्थित सर्लाहीकै गोडैता नगरपालिका अन्तर्गत बगदहको महालक्ष्मी सुगर मिल मंसिर दोस्रो साताबाट नै सञ्चालनमा छ । उक्त उद्योगले बुधबारसम्म दुईलाख ८० हजार क्वीन्टल बढी उखु क्रसिङ गरिसकेको गोडैता नगरपालिकाका मेयर देवेन्द्र यादवले जानकारी दिए ।
‘भुक्तानीमा ढिलाई लगायत कारणले गत वर्षहरुमा उखु नै नपाउने महालक्ष्मीमा त अहिले उखु बोकेका टायर र ट्याक्टर जस्ता सवारी साधनले यार्ड भरिभराउ छ’, मेयर यादवले उल्यालो अभियानसँग भने, ‘सुक्ने डर अनि अर्को बाली लगाउने हतारका कारण उत्तरी क्षेत्रका धेरै किसानले यो उद्योगमा उखु ल्याउन सूरु गरिसकेका छन् ।’ मुल्य लगायत अन्य विषयमा सरकार विरुद्ध आन्दोलन गर्नुपर्नेमा उद्योग बन्द गराएर किसानको उखु सुकाउने र अर्को बाली लगाउन नपाउने अवस्था सृजना गर्नु दुःखद भएको नेपाल उखु उत्पादक महासंघका नेता समेत रहेका मेयर यादवको भनाई छ ।
विगत वर्षहरुमा महालक्ष्मी उद्योगमा स्थानीयले समेत भरसक उखु दिनु नपरे हुन्थ्यो भन्थे । भारतीय सिमावर्ती क्षेत्रका किसानले समेत सकेसम्म ईन्दुशंकर चिनी उद्योगमै उखु बिक्री गर्न पाए हुन्थ्यो भनेर निकै प्रयास गरिरहेका हुन्थे । विडम्बना यसवर्ष महालक्ष्मीमा उखुको लर्को लाग्न थालेको छ । किनकी किसानलाई दिनानुदिन तौल घट्दै जाने खुटी उखु निखनेर अर्को बाली लगाउने चटारो छ ।
मेयर यादवका अनुसार रौतहटको बाबा वैजनाथ चिनी उद्योगले समेत ३ लाख क्वीन्टल भन्दा बढी उखु क्रसिङ गरिसकेको छ । ‘सर्लाहीको ईन्दुशंकर र महोत्तरीको एभरेष्ट सुगर मिल बाहेक मुलुकका सबै सबै उद्योगहरु चलिसकेका छन्’, मेयर यादवले भने, ‘एभरेष्टको शाखा सिराहामा रहेको अर्को उद्योग समेत सञ्चालनमा रहेको छ ।’
उखुको मुल्य प्रति क्वीन्टल ७५० रुपैंया तय नहुञ्जेल उद्योग चल्न नदिने हरिवनमा एकसातादेखि आन्दोलनरत सर्लाहीका किसान नेताहरुको भनाई छ । बुधबार दिउँसो बसेको संघीय मन्त्रिपरिषद्को बैठकले उखुको मूल्य प्रति क्वीन्टल ६३५ रुपैंया पाउने निर्णय गरेको छ । तर किसान नेताहरुले उक्त मुल्य अमान्य भएको बताएका छन् ।
वर्तमान संघीय सरकारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत पार्टीको संघीय अनि प्रदेश सरकार छ । नेपाली कांग्रेसका नेता प्रकाशशरण महत अर्थ तथा रमेश रिजाल उद्योग मन्त्री रहेका छन् भने नेकपा एकीकृत समाजवादीका नेता बेदुराम भुषाल कृषि तथा पशुपंक्षी विकास मन्त्री मन्त्री छन् । नेकपा एमाले सशक्त प्रमुख प्रतिपक्षी दल हो ।
तर उखुको मुल्य लगायत किसानका लागि विभिन्न माग राख्दै हरिवन नगरपालिका-११ मा प्रधानमन्त्री प्रचण्डकै पार्टी माओवादीबाट गत स्थानीय तहमा वडाध्यक्षका प्रत्यासी शेष ईस्तिहार गत सोमबारदेखि आमरण अनसनमा बसेका छन् । प्रदेश सभा सदस्य जवाहर कुशवाहा, हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी लगायत माओवादी नेता कार्यकर्ता आन्दोलनमै छन् ।
यता कांग्रेसका पूराना नेता नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनाली, कांग्रेसका जिल्ला नेता डोर प्रसाद भट्टराई, हरिवन सभापति रामशरण उप्रेती लगायत नेताहरु पनि आन्दोलनरत छन् । एमाले सर्लाहीका प्रभावशाली नेता मिलगेट उखु उत्पादक समिति हरिवनका अध्यक्ष राजकुमार उप्रेती र पूर्व प्रदेश सभा सदस्य डिल्ली प्रसाद उप्रेतीको पनि आन्दोलनमा सशक्त नेतृत्व रहेको छ ।
तर नेताहरु उद्योग नै बन्द गराएर वेमौसमी आन्दोलन गराउँदै किसानको उखु खेतमै सुकाउने र खुटी उखु काटेर अर्को बाली लगाउन नदिनका लागि ‘खलपात्र’ बन्दै गएको गुनासो बढ्न थालेको छ । ‘यिनै नेताहरुको संघ, प्रदेश अनि स्थानीय सरकार छ, सरकारले उखुको मुल्य तोक्ने भएपछि उद्योग नै बन्द किन गराउनु पर्यो ?’, एक किसानले आक्रोश व्यक्त गर्दै उज्यालो अभियानसँग प्रतिप्रश्न गर्दै भने, ‘उखुको मुल्य लगायत यावत विषयमा सरकार विरुद्ध भदौ-असोजमै पहल गर्ने र नभए आन्दोलन सूरु गरे त हुन्थ्यो नी, अन्तिम समयमा आएर उद्योग चल्नै नदिँदा उखु सुकाउने अनि अर्को बाली पनि लगाउन नदिने गरी किसानलाई मारमा पार्ने खालको आन्दोलनले के समाधान देला र ?’
उखु आन्दोलनको अगुवा नेताहरुले भने सरकार चिनी उद्योगीको पक्षमा लागेको आरोप लगाउँदै आएका छन् । तर ‘आफ्नो खल्ती दर्हो नराख्ने अनि अर्कालाई चोर लगाउने’ भन्ने उखान जस्तै आफ्नै पार्टीका प्रधानमन्त्री र मन्त्रीहरुलाई कयसमा राख्न नसक्ने भए किन स्थानीय नेता बन्नु भन्दै उखु आन्दोलनका अगूवा नेताहरु विरुद्ध जनमत बढ्दै जान थालेको छ । उखु किसानको आन्दोलन क्रमशः नेतृत्वविहिन समेत बन्दै गईरहेको आभास आम सरोकारवालाले गर्न थालेका छन् ।
सर्लाही मुलुकमै सबैभन्दा बढी उखु खेती हुने मात्र नभई चिनी उद्योग समेत ३ वटा भएको जिल्ला हो । यहाँको धनकौल गाउँपालिका स्थित अन्नपूर्ण सुगर मिल भने विगत केही वर्षदेखि अन्यौलमय अवस्थामा रहेको छ ।
सर्लाहीका उखु किसानले आन्दोलन रोकेनन्, सरकारले तोकेको मूल्य अस्वीकार
हरिवनमा उखु किसानको राँके जुलुस
महेन्द्र राजमार्गमै लम्पसार परे उखु किसान
उखु किसानको माग राख्दै इस्तिहार बसे आमरण अनसन
अर्थ हैन अनर्थ र विकास हैन विनास मन्त्रालय भन्दै उखु किसानले ब्यानर जलाए
उखुकाे हरियाे लाँक्रा बाेकेर महेन्द्र राजमार्ग निस्किए किसान
हरिवनमा उखु किसानको बृहत भेला, भोली उखुको लाक्रासहित प्रदर्शन गरिने
उखु किसानद्वारा आन्दोलनको घोषणा, ७५० रुपियाँ मूल्य कायम गर्न माग