हरिवन – चिनीमा वृद्धि भएको मूल्य र उखु उत्पादन लागतका आधारमा उखुको मूल्य तय गर्नुपर्ने माग गर्दै आन्दोलित सर्लाहीका उखु किसानले मंगलबार राँके जुलुश निकालेका छन् ।
आन्दोलित उखु किसान हरिवनस्थित पूर्व–पश्चिम राजमार्गमा राँके जुलुश निकालेका हुन् । साँझ ५ बजेपछि राँके जुलुश निकालेर सगुन सहकारी अगाडि कोण सभा गरेर मंगलबारको विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरिएको मिलगेट उखु उत्पादक समितिका अध्यक्ष राजकुमार उप्रेतीले उज्यालो अभियानसँग बताए ।
उप्रेतीका अनुसार आन्दोलनले बुधबार पनि निरन्तरता पाउने छ । बुधबार दिउँसो हरिवनमै पूर्व–पश्चिम राजमार्गमा चक्काजाम गरिने उप्रेतीले बताए ।
उखु किसानले उठाएको माग सम्वोधन गर्न भन्दै माओवादी कार्यकर्ता शेष इस्तिहारले इन्दुशंकर चिनी उद्योगको गेटमा सोमबारबाट सुरु गरेका आमशरण अनशन मंगलबार दोस्रो दिन पनि जारी छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पहलमा आइतबार बालुवाटारमा मन्त्री तथा विभिन्न मन्त्रालयका सचिवबिच भएको छलफलमा उखु किसानको बक्यौता रहेको अनुदानको ५२ करोड रुपियाँ तत्काल भुत्तानीका लागि पहल गर्ने निर्णय गरेको थियो ।
सो निर्णयपछि पनि उखु किसानको आन्दोलन जारी नै रहेको हो । नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले किसानको खातामा अनुदान रकम नआउँदासम्म र यो वर्षका लागि उखुको समर्थन मूल्य नतोकिँदासम्म आन्दोलन जारी रहने उज्यालो अभियानसँग बताए ।
धमाधम उखु काटेर चिनी उद्योगमा लगेर बेच्नुपर्ने समयमा गत वर्षको अनुदान रकम र यो वर्षका लागि उखुको मूल्य कायम गर्नुपर्ने माग गर्दै किसान सडक आन्दोलनमा छन् । खेतको उखु काट्न ढिलो भएर तौल घट्दै गएको छ ।
आन्दोलनका कारण किसानले उखु नल्याउँदा देशकै सबैभन्दा ठूला इन्दुशङ्कर चिनी उद्योग हरिवन, सर्लाही र एभरेष्ट चिनी उद्योग रामनगर, महोत्तरीले पुस लागिसक्दा पनि उखु क्रसिङ सुरु गर्न पाएका छैनन् । बरु खेतमै उखु सुकेर जान दिने तर उद्योगीको प्रभावमा परेर सरकारले एक पक्षीय हिसाबले तोक्ने मूल्य किमार्थ नस्वीकार्ने आन्दोलित उखु किसानले बताएका छन् ।
उखु किसानले यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ कायम गर्नुपर्ने माग गरेका छन् । गत वर्ष उखुको मूल्य ६१० रुपियाँ कायम गरिएको थियो । त्यसमध्ये ७० रुपियाँ सरकारले अनुदानबापत उपलब्ध गराउने निर्णय भएको थियो ।
अर्थ मन्त्रालयले अनुदानको पूरा रकम निकासा नगर्दा यहाँका उखु किसानले गत वर्ष बिक्री गरेको उखुको ३० प्रतिसत मात्रै अनुदान रकम प्राप्त गरेका छन् । कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सर्लाहीले मन्त्रालयबाट निकासा भएको अधुरो रकम प्रत्येक किसानलाई ३० प्रतिसतको दरले तिहारअघि बैङ्क खातामा पठाइदिएको थियो ।
सर्लाहीमा रहेका इन्दुशङ्कर, महालक्ष्मी र अन्नपूर्ण गरी तीनवटा चिनी मिलमा गत वर्ष उखु बेचेका १७ हजार ३० जना किसानलाई प्रति क्विन्टल ७० रुपियाँको दरले वितरण गर्न २९ करोड २५ लाख ५२ हजार ७४९ रुपियाँ ३० पैसा निकासा हुनुपथ्र्यो तर कोलेनिकामा नौ करोड ११ लाख २६ हजार ६३८ रुपियाँ मात्रै प्राप्त भयो ।
प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बैठक बसेर मन्त्रालयबाट प्राप्त सो रकम किसानलाई ३० प्रतिसतको हिसाबले वितरण गर्ने निर्णय गरेपछि कोलेनिकाले आफूलाई प्राप्त सबै अनुदान रकम बाँडेर सकिसकेको छ ।
सर्लाहीका उखु किसानका लागि मात्रै अझै २० करोड १४ लाख २६ हजार १११ रुपियाँ ३० पैसा अनुदान रकम आउन बाँकी रहेको प्रमुख कोष नियन्त्रक निर्मल न्यौपानेले बताए ।
उखु उत्पादक महासङ्घका अध्यक्ष मैनालीका अनुसार नवलपरासी र कञ्चनपुरका उखु किसानले पनि गत वर्षको अनुदान रकम प्राप्त गर्न बाँकी नै छ ।