उखुकाे लाँक्रा बाेकेर शनिबार दिउँसाे हरिवन बजार स्थित महेन्द्र राजमार्गमा निस्किएका किसान । (तस्बिर : उज्यालाे अभियान)
हरिवन, ३० मंसिर – सर्लाहीका उखु किसानले आज (शनिबार) दिउँसाे हरिवनमा उखुको लाक्रा सहित विराेध प्रदर्शन गरेका छन् ।
उखुको मूल्य तत्काल तोक्न र गत वर्षको बाँकी बक्यौता रकम भुक्तानी गर्न माग गर्दै आन्दोलन सुरु गरेका किसानले आज हरिवनमा उखुको लाक्रा बोकेर नारबाजी सहित जुलुस निकालेका हुन् । हरिवन बजारबाट सूरु भएकाे जुलुस ईन्दुशंकर चिनी उद्याेग सामुन्ने पुगेर पुन: हरिवन बजारमै आई विराेध सभामा परिणत भएकाे थियाे ।
आन्दोलनको तयारी स्वरुप हिजो शुक्रबार नै हरिवनमा किसानहरुकाे बृहत भेला समेत सम्पन्न भएको थियो । किसान नेताहरुले यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपैयाँ कायम गर्न माग गरेका छन् । त्यस्तै, गत वर्ष सरकारले दिनुपर्ने ७० रुपियाँमध्ये अहिलेसम्म २१ रुपियाँ मात्रै प्राप्त भएको र बाँकी ४९ रुपियाँ यथाशीघ्र भुक्तानी गर्न माग गर्दै आन्दोलन थालेका हुन् ।
नेपाल उखु उत्पादक महासंघ, मिलगेट उखु उत्पादक समिति र किसान हकहित संरक्षण समितीकाे संयुक्त आयाेजनामा विराेध प्रदर्शन भईरहेकाे छ
धमाधम उखु काटेर बेच्नुपर्ने बेला सरकारले उखुको मूल्य नतोक्दा किसान निराश बनेका छन् । मूल्य नतोकी मिल नचलाउन किसानले आग्रह गरेपछि देशकै सबैभन्दा ठूला दुई चिनी उद्योग इन्दुशंकर चिनी उद्योग हरिवन र एभरेष्ट चिनी मिल रामनगर महोत्तरीले उखु क्रसिङ सुरु गर्न पाएका छैनन् ।
चिनीको बढ्दो मूल्य र उखु उत्पादन लागतलाई आधार मानेर यो वर्ष उखुको मूल्य प्रतिक्विन्टल ७५० रुपियाँ पाउनुपर्ने नेपाल उखु उत्पादक महनसंघका अध्यक्ष कपिलमुनी मैनालीकाे भनाई छ । मंसिर २५ गते कृषि मन्त्रालयमा भएको वार्तामा सरकारले उखुको मूल्य ५६५ प्रस्ताव गरेपनि अस्वीकार गरिएकाे मिलगेट उखु उत्पादक समितिका अध्यक्ष राजकुमार उप्रेतीले जानकारी दिए ।
गत वर्ष सरकारी अनुदानसहित उखुको मूल्य ६१० रुपैयाँ कायम भएको थियो ।