logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

चन्द्रनगरमा शिक्षकको आन्दोलन स्थगित, सोमबारदेखि विद्यालय खुल्ने


  • उज्यालो अभियान

चन्द्रनगर  – सर्लाहीको चन्द्रनगर गाउँपालिकाका शिक्षकले आजबाट आन्दोलनको कार्यक्रम स्थगित गरेका छन् ।

चालू आर्थिक वर्ष २०८०/०८१ को तलबभत्ता, विद्यालय सन्चालन खर्च तथा विद्यार्थीका लागि दिवा खाजाको रकम निकासाको माग गर्दै गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षक मंसिर १२ गतेदेखि विद्यालय बन्द गरेर गाउँपालिका कार्यालयमा धर्नामा बसेका थिए ।

आज गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षलगायतले धर्नास्थलमा आएर एक महिनाभित्र गाउँसभा गरेर तलबभत्ता खुवाउनेलगायतका माग पूरा गर्ने प्रतिवद्धता जनाएपछि शिक्षकले धर्ना कार्यक्रम स्थगित गरेका हुन् । शिक्षकले आन्दोलन रोकेसँगै अब आगामी सोमबारदेखि चन्द्रनगरका सम्पूर्ण सामुदायिक विद्यालय खुल्ने भएका छन् ।

पर्सी आइतबार मधेश प्रदेश सरकारले विवाह पन्चमीको बिदा दिएकाले सोमबारबाट विद्यालय खुल्ने भएको हो । शिक्षकको आन्दोलनले १८ दिनसम्म गाउँपालिकाभित्रका २२ वटा सामुदायिक विद्यालय बन्द हुँदा झण्डै ६ हजार विद्यार्थी पढाईबाट बन्चित हुनुपर्यो । गाउँसभा नभएर बजेट पारित हुन नसकेकाले गाउँपालिकामा आर्थिक गतिविधि पूर्ण ठप्प छ ।

गाउँपालिका अध्यक्ष राजकुमार महतोले गाउँसभा गर्नका लागि पहल भइरहेको बताए ।