logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

यातायात व्यवस्था कार्यालय मलंगवाको सेवा प्रारम्भ, पहिलो दिन १० सेवाग्राहीको लाइसेन्स नवीकरण


  • उज्यालो अभियान

मलंगवा – सर्लाही सदरमुकाम मलंगवामा यही मंसिर १७ गते उद्घाटन भएको यातायात व्यवस्था कार्यालयले आज (बुधबार) बाट सेवाग्राहीलाई सेवा प्रदान गर्न सुरु गरेको छ ।

कार्यालयले तत्कालका लागि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को नवीकरण, जाँचपास नवीकरण, नयाँ सवारीको दर्ता, नयाँ रुट परमिट दर्ता, वर्कशप दर्ता र ड्राइभिङ प्रशिक्षण केन्द्र दर्ता सम्वन्धी सेवा प्रवाह गर्ने कार्यालय प्रमुख राकेश यादवले उज्यालो अभियानसँग बताए । कार्यालय नयाँ रहेको र सफ्टवेयर पनि नयाँ रहेकाले ब्लुबुक नवीकरणको सेवा प्रदान गर्न भने केही समय लाग्ने उनले जानकारी दिएका छन् ।

यादवका अनुसार बुधबार पहिलो दिन सफ्टवेयरको परीक्षण स्वरुप एक जना सेवाग्राहीको लाइसेन्स नवीकरण गर्ने तयारी भएपनि सफ्टवेयरले सफलतापूर्वक काम गरेपछि १० जना सेवाग्राहीको लाइसेन्स नवीकरण गरेर पठाइएको छ । सदरमुकाम मलंगवास्थित साबिक जिविस (हालको जिल्ला समन्वय समिति) को भवनमा स्थापना गरिएको कार्यालयले पहिलो सेवाग्राहीका रुपमा बलरा नगरपालिका–४, निवासी अशोक कुमार सिंहको सवारी चालक अनुमति पत्र नवीकरण गरेको हो ।

जिल्लामै यातायात व्यवस्था कार्यालयको सेवा पाएसँगै सेवाग्राहीले खुसी व्यक्त गरेका छन् । दशौँ सेवाग्राहीको रुपमा लाइसेन्स नवीकरण गराउन पुगेका नेपाल पत्रकार महासंघ मधेश प्रदेशका कोषाध्यक्ष एवं सर्लाही शाखाका पूर्व अध्यक्ष विश्वनाथ ठाकुरले जिल्लामै यो सेवा पाउँदा सहज र सरल महशुस गरेको बताए ।

सर्लाहीका स्थानीयले यसअघि बर्दिवास, जनकपुर, वीरगन्जलगायत ठाउँका यातायात व्यवस्था कार्यालयमा गएर सेवा लिने गरेका थिए ।

कार्यालयले निकट भविष्यमा यहीँबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रदान गर्ने जनाएको छ । कार्यालयसँग तत्काल आफ्नै ड्राइभिङ सेन्टर नरहेकाले जिल्लाभर कतै निजी ड्राइभिङ सेन्टर भाडामा लिएर सवारी चालक अनुमति पत्र जारी गर्ने काम अघि बढाइने कार्यालय प्रमुख यादवको भनाई छ ।