नाढीमन – सर्लाहीको चन्द्रनगर गाउँपालिकाका शिक्षक १४ दिनदेखि विद्यालय बन्द गरी धर्नामा बसेका छन् ।
चालू आर्थिक वर्ष २०८०÷०८१ को तलबभत्ता, विद्यालय संचालन खर्च तथा विद्यार्थीका लागि दिवा खाजाको रकम निकासाको माग गर्दै गाउँपालिकाभित्रका सम्पूर्ण शिक्षक मंसिर १२ गतेदेखि गाउँपालिका कार्यालयमा धर्नामा बसेका हुन् । १४ दिनदेखि गाउँपालिकाका २२ वटा सामुदायिक विद्यालय बन्द हुँदा करिव छ हजार विद्यार्थी पढाईबाट बन्चित हुनुपरेको छ ।
यहाँ राजनीतिक टकराबले गाउँसभा हुन नसक्दा बजेट चलेको छैन् । गाउँपालिकामा आर्थिक गतिविधि पूर्णरुपमा ठप्प छ ।
गएको साउनदेखि तलब नपाएपछि धर्नामा बसेका शिक्षकलाई गाउँपालिकाका कर्मचारीले पनि समर्थन जनाएका छन् । उनीहरुको धर्ना आज (सोमबार) पनि जारी छ ।
नेपाल शिक्षक महासंघ चन्द्रनगर गाउँपालिका समितिका अध्यक्ष सरोजकुमार सिंहले १४ दिनदेखि निरन्तर धर्नामा बस्दा समेत कुनै सुनुवाई नभएको गुनासो गरे । “भोकभोकै पढाउन नसकेर धर्नामा आएर बसेको सोमबार १४ दिन भयो तर गाउँसभा गरेर तलबभत्ता निकासा गर्ने विषयमा जनप्रतिनिधि गम्भीर देखिएका छैनन,” शिक्षक महासंघका अध्यक्ष सिंहले भने ।
आन्दोलित शिक्षकले ५ महिनासम्म तलब नपाउँदा घर, व्यवहार चलाउनै मुस्किल परेपछि बाध्य भई विद्यालय बन्द गरेर धर्नामा बस्नुपरेको बताएका छन् । जनप्रतिनिधिबीचको द्वन्द्वले यत्तिका दिनसम्म विद्यालय बन्द हुँदा अभिभावक चिन्तित बन्न थालेका छन् ।
चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोले गाउँसभा गर्नका लागि आफू प्रयासरत् नै रहेको बताए । “कार्यपालिकामा मसँग बहुमत छैन्,” उज्यालोसँग कुरा गर्दै उनले भने, “गाउँसभा गर्न मैले मात्रै भनेर हुनेवाला केही छैन् ।”
आफू दुई पटक धर्नास्थलमा पुगेर गाउँसभा हुनासाथ तलबभत्ता निकासा गर्ने र तत्काल विद्यालय सञ्चालन गरिदिन आन्दोलित शिक्षकहरुसँग आग्रह गरेको उनले बताए । “उहाँहरुलाई दुई पटक आफै पुगेर विद्यालय खोलिदिन आग्रह गरे तर मान्नुभएन्,” गाउँपालिका अध्यक्ष महतोले भने, “त्यो धर्नामा पनि चारतिरका १० थरी मान्छे छन् ।”
चन्द्रनगरमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षबीच लामो समयदेखि विवाद छ । गाउँपालिका अध्यक्ष महतोले गएको असारमै गाउँसभा गरेर बजेट पारित गर्ने प्रयास गरेपनि उपाध्यक्ष गीतादेवी महतोसहित बहुमत कार्यपालिका सदस्य सभामा सहभागी नै भएनन् ।
उपाध्यक्ष महतो गाउँपालिका अध्यक्षले आफूहरुसँग समन्वय नगरी एकलौटी ढंगले अघि बढेको आरोप लगाउँछिन् । चन्द्रनगरको १५ सदस्यीय कार्यपालिकामा अध्यक्ष महतोसहित तीन जना एकातर्फ र उपाध्यक्षसहित बाँकी १२ जना अर्कोतर्फ रहेका छन् ।
जनप्रतिनिधिबीच छलफलको वातावरण नै नबन्दा थप आरोपप्रत्यारोप र आक्रोश बढ्दै गएको पाइन्छ । आपसमा बोलचाल धरी हुँदैन् ।
यसअघि जिल्लाको हरिपूर्वा नगरपालिकामा यसैगरी शिक्षकहरु तलब माग गर्दै १३ दिनसम्म धर्नामा बसेका थिए । नगरसभा हुन नसकेको त्यहाँ पनि नगरप्रमुख विनोद कुमार साहले नगरसभा हुनासाथ तलब, भत्ता खुवाउने आश्वासन दिएर विद्यालय खुलाएका थिए ।