logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

नारायणपुरमा २९३ परिवारलाई लालपुर्जा वितरण


  • उज्यालो अभियान

नारायणपुर – भारतीय सीमासँग जोडिएको सर्लाहीस्थित नारायणपुर गाउँमा सोमबार २९३ परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ ।

पर्सा गाउँपालिका वडा नं. ३ मा पर्ने साबिकको नारायणपुर गाउँ विकास समिति (गाविस) मा २९३ थान लालपुर्जा वितरण गरिएको हो । वर्षौदेखि गाउँ ब्लक जग्गामा बसोवास गर्दै आएका स्थानीयलाई लालपुर्जा वितरण गरिएको नापी कार्यालय मलङ्गवाले जनाएको छ ।

प्रमुख नापी अधिकृत सञ्जय मानन्धर, गाउँपालिकाका अध्यक्ष धीरेन्द्र राय यादव (विस्पत), वडाध्यक्ष रघुनाथ साहलगायत भएर पर्सा बजारस्थित गाउँपालिकाको कार्यालयमै कार्यक्रम गरेर सबै परिवारलाई लालपुर्जा हस्तान्तरण गरेका हुन् । स्थानीयलाई जग्गाधनी प्रमाणपुर्जा वितरणका लागि २०६७ सालमै जग्गा नापजाँच भएको थियो ।

१३ वर्षपछि सम्पूर्ण प्रक्रिया पूरा गरेर लालपुर्जा उपलब्ध गराइएको प्रमुख नापी अधिकृत मानन्धरले उज्यालो अभियानसँग बताए । वर्षौको प्रतिक्षापछि जग्गाको प्रमाणपुर्जा पाउँदा नारायणपुरवासी दङ्ग परेका छन् ।

गाउँब्लक जग्गाको लालपुर्जा पाएसँगै स्थानीयले अब आर्थिक समस्या भएको बेला बैङ्कमा जग्गा धितो राखेर ऋण लिन पाउँछन् भने किनबेचमा पनि सहजता भएको छ । नापी कार्यालय मलङ्गवाले गाउँब्लक जग्गाको पुर्जा वितरण गर्ने कार्यलाई तीव्रता दिएको छ ।

कार्यालयले यसअघि गएको बैशाखदेखि नारायणपुरबाहेक ईश्वरपुर, हरिपुर, हरिवन, बरहथवा नगरपालिका र चन्द्रनगर गाउँपालिकामा तीन सय बढी परिवारलाई लालपुर्जा उपलब्ध गराइसकेको छ ।