फूलजोर – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फूलजोर खोलाको पुलमा रेलिङ हाल्न ढिलाई गर्दा जोखिम बढेको छ ।
पुलमा रेलिङ भत्किएको करिव दुई वर्ष हुन लाग्दा समेत मर्मतमा बेवास्ता गरिँदा स्थानीयले जोखिम महशुस गरेका हुन् । ईश्वरपुर नगरपालिका–५, फूलजोर चोकका विनय घिसिङले पुलको उत्तरतर्फको भागमा रेलिङ भत्किएर छेकबार नै नहुँदा स–साना बालबालिका, बटुवा तथा जङ्गल चराउन लगिएका वस्तुभाउ पुलबाट खस्ने जोखिम रहेको जानकारी दिए ।
लालबन्दी नगरपालिका र ईश्वरपुर नगरपालिकालाई जोड्ने फूलजोर खोलाको पुलमा रेलिङ भत्किएर जोखिम बढेको हो । २०७८ साल चैत १३ गते उक्त पुलबाट ना ४ ख ८५५५ नम्वरको बस पुलको रेलिङ नै भत्काएर खोलामा खस्दा चार जनाको मृत्यु भएको थियो भने ३२ जना घाइते भएका थिए ।
उक्त दुर्घटनापछि पुलको रेलिङ मर्मत नहुँदा जोखिम रहेको स्थानीयले बताएका छन् । सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरले फूलजोर खोलाको सो पुलमा भत्किएको रेलिङ तत्काल हाल्ने सम्भावना नरहेको जनायो ।
कार्यालयका प्रमुख दीपेन्द्र पाण्डेले राजमार्गका पुल अब कमला–ढल्केबर–पथलैया आयोजनाले हेर्ने र विश्व बैङ्कमार्फत पुलको मर्मत सम्भारको लागि ठेक्का प्रक्रिया अघि बढेको उज्यालो अभियानसँग बताए । ठेक्का लागेपछि ठेकेदारले नै रेलिङ हाल्नेदेखि अन्य मर्मतको काम गर्ने सडक डिभिजन प्रमुख पाण्डेको भनाई छ ।