बयलवास – प्रहरीले आइतबार सर्लाहीको उत्तर–पूर्वी चुरेभेगस्थित ईश्वरपुर नगरपालिका–१२, पिपलदमार क्षेत्रमा पाँचबिघाको गाँजा खेती फडानी गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवाबाट प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारु र इलाका प्रहरी कार्यालय केशरगन्ज बयलवासबाट प्रहरी निरीक्षक (इन्स्पेक्टर) मानप्रसाद श्रेष्ठको कमाण्डमा गएको प्रहरी टोलीले सिन्धुली र महोत्तरीसँग सीमा जोडिएको पिपलदमारमा ५ बिघाको गाँजा खेती नष्ट गरेको हो । प्रहरी गएर गाँजा फाडिदिएपछि स्थानीयमा रुवावासी चलेको छ ।
अन्य बालीनाली खासै नहुने त्यहाँका स्थानीयले राम्रो आम्दानी हुने देखेर गाँजाको खेती गरेका थिए । मलजल तथा पानी पटाएर गरिएको गाँजा खेती प्रहरीले आइतबार दिनभर लगाएर फाँडिदिएको हो ।
यसअघि ३ दिनपहिले प्रहरीले लालबन्दी नगरपालिकाको वडा नं. १४ नारायण खोलामा १५ बिघाजतिको गाँजा खेती नष्ट गरेको थियो । चुरेभेगको दुर्गम गाउँका स्थानीयले फलाएको गाँजा प्रहरीको आँखा छलेर भारतसम्म पुर्याएर राम्रो दाममा बिक्री हुन्छ ।
पिपलदमारका एक स्थानीयले अन्य बाली फल्दै नफल्ने भएकाले गाँजाको खेती गरेको आइतबार साँझ उज्यालो अभियानसँग बताए । नेपालमा केही वर्षअघिदेखि नै गाँजा खेतीलाई वैद्यानिकता दिने चर्चा चलेपनि अहिलेसम्म यो खेतीले कानूनि मान्यता पाउन सकेको छैन् ।