जिरायत – सर्लाहीको बागमती नगरपालिका–४, नयाँबस्ती जिरायतमा रहेको जनज्योति आधारभूत विद्यालयमा स्थापना गरिएको अक्षय कोषको रकमबाट विद्यार्थीलाई छात्रावृत्ति वितरण गरिएको छ ।
विद्यालयका तीन जना विद्यार्थीलाई छात्रावृत्ति वितरण गरिएको विद्यालयका प्रधानाध्यापक मनोजप्रसाद खनालले जानकारी दिए । विद्यालयका पूर्व प्रधानाध्यापक ज्ञानबहादुर खड्काले गत वर्ष दिवंगत श्रीमती ज्ञानुुकुमारी खड्काको नाममा अक्षयकोष स्थापना गरेका थिए ।
सुरुमा १ लाख ६५ हजार ५०० रुपैयाँको अक्षय कोष स्थापना गरिएको थियो । छात्रावृत्ति वितरणकै अवसर पारेर पूर्व प्रधानाध्यापक खड्काले अक्षयकोषमा फेरि ५० हजार रुपैयाँ थप गरिदिएका छन् ।
सो अक्षय कोषको रकम बैंकमा जम्मा गर्दा प्राप्त ब्याजबाट विद्यालयमा अध्ययनरत छात्रा ग्रिष्मा ग्याबक, छात्र सागर पुलामी मगर र अविनाश थिङलाई छात्रावृत्ति बापत शैक्षिक सामग्री, विद्यालय पोसाक र ब्याग वितरण गरिएको हो । विद्यालयले यो कोषको रकमबाट प्राप्त हुने ब्याजले वर्षेनि जेहेन्दार, अतिविपन्न र छात्रालाई छात्रवृत्ति दिने उल्लेख गरेको छ ।
बागमती वडा नं. ४ का वडाध्यक्ष कृष्णकुमार लामा, नगरपालिकाको शिक्षा संयोजक राजकुमार विश्वकर्मा, शिक्षा शाखाका ओमबहादुर कार्की, पूर्व प्रधानाध्यापक खड्का, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मंगलसिंह मोक्तान, प्रधानाध्यापक खनाललगायत भएर छात्रावृत्ति वितरण गरेका विद्यालयले जनायो ।