हरिवन – सर्लाहीको हरिवनमा आज नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघको कार्यालय भवन शिलान्यास गरिएको छ ।
निवर्तमान रक्षामन्त्री एवं सर्लाही क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य हरिप्रसाद उप्रेतीले हरिवन नगरपालिका ११ स्थित सशस्त्र प्रहरीको क्याम्प नजिक भूतपूर्व सैनिकको कार्यालय भवन शिलान्यास गरेका हुन् ।
संघका कार्यवाहक जिल्ला अध्यक्ष भिमशेन थापाको अध्यक्षतामा आयोजित कार्यक्रममा निवर्तमान प्रदेश सभा सदस्य डिल्लीप्रसाद उप्रेती, हरिवन नगरपालिकाका प्रमुख रमेश बुढाथोकी (कमल), उपप्रमुख हरिमाया घलान, राजनीतिज्ञ, जनप्रतिनिधि, समाजसेवीलगायतको उपस्थितिमा भवनको शिलान्यास गरिएको संघका केन्द्रिय सदस्य प्रभुनारायण शिवकोटी (श्याम) ले जानकारी दिए ।
उनका अनुसार भूतपूर्व सैनिकले आपसी सहयोग उठाएर तथा केन्दीय समितिबाट प्राप्त १ लाख रुपैयाँ समेत गरेर भवन बनाउन लागिएको हो ।
भूतपूर्व सैनिकको भवन निर्माणका लागि हरिवनकै स्थानीय कालिमाया रुम्बाले २ कठ्ठा जग्गा निःशुल्क उपलब्ध गराए ।