नारायण खोला – हरेक वर्ष झैँ सर्लाही प्रशासनले जिल्लाको दुर्गम चुरेभेगमा प्रहरी लगेर लागूऔषध गाँजाको खेती फडानी गर्न सुरु गरेको छ ।
लालबन्दी नगरपालिका वडा नं. १४ नारायण खोलामा आजबाट प्रहरी परिचालन गरी गाँजा खेती नष्ट गर्न थालिएको हो । यो बेला त्यहाँ गाँजा खेती ठिक्क बिक्री गर्ने बेलाको भएको छ ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) कोमलप्रसाद धमला, सहायक प्रमुख जिल्ला अधिकारी (सहायक सीडीओ) होमप्रसाद घिमिरे, राष्ट्रिय अनुसन्धानका उप–अनुसन्धान निर्देशक सन्तोष ढुंगेल, प्रहरी उपरीक्षक (एसपी) प्रवीण धिताल, प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपेन्द्र पन्जियार थारु आफै डेढ सय प्रहरी लिएर गाँजा फाड्न नारायण खोला पुगेका हुन् ।

प्रदेश प्रहरी कार्यालयबाट समेत थप मद्धतमा प्रहरी मगाइएको छ । सशस्त्र प्रहरीले पनि सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को कमाण्डमा सुरक्षाकर्मी खटाएको छ । दुवै टोलीले गरी आज पहिलो दिन नारायण खोलाको लखन्देही खोलातर्फ तीनतले भन्ने ठाउँमा १५ बिघा जतिको गाँजा फाडेको हो ।
एसपी धितालले अब प्रहरीले त्यहाँ अवैध गाँजाको खेती निरन्तर नष्ट गर्ने उज्यालो अभियनसँग बताएका छन् । आम्दानी राम्रो हुने देखेर सर्लाही जिल्लाको दुर्गम गाउँ नारायण खोलाका स्थानीयले केही वर्षदेखि गाँजाको खेती बढाउँदै लगेका छन् ।
प्रहरीले यही मौसम पारेर वर्षेनि नारायण खोलामा पुगी गाँजा फाड्छ । तर स्थानीयले यसको खेती छाडेका छैनन् । पत्थरकोटबाट खोलाको बगरै–बगर हुँदै जानुपर्ने नारायण खोलामा भारतीयको समेत साथ, सहयोगमा गाँजा खेती हुने गर्छ । प्रहरी गएर गाँजा फाड्न थालेपछि स्थानीयमा रुवावासी छाएको छ ।

प्रहरीले पाखो बारीमा लगाएको गाँजा फाडिरहँदा स्थानीय भने देखा नै पदैनन् । मुखैमा आइसकेको आम्दानी नष्ट गरिँदा सारा गाउँलेमा रुवावासी चलेको एक स्थानीयले उज्यालो अभियानलाई जानकारी दिए ।
नारायण खोलावासीले फलाएको गाँजा प्रहरीको आँखा छलेर भारतसम्म पुर्याएर राम्रो दाममा बिक्री हुन्छ ।
नेपालमा केही वर्षअघिदेखि नै गाँजा खेतीलाई वैद्यानिकता दिने चर्चा चलेपनि अहिलेसम्म यो खेतीले कानूनि मान्यता पाउन सकेको छैन् ।