बागमती – सर्लाहीको बागमती नगरपालिका–८, शङ्करपुर सोल्टी बजार क्षेत्रमा फैलिएको डेङ्गु सङ्क्रमण कम हुँदै गएको छ ।
यहाँ ११५ जनामा डेङ्गु सङ्क्रमण भएकोमा अहिले विस्तारै नियन्त्रण हुन थालेको नगरपालिकाको स्वास्थ्य शाखाका संयोजक पद्म रायमाझीले जानकारी दिए । फाट्टफुट्ट बिरामी भेटिए पनि दुई साताअघिको जस्तो विकराल अवस्था नरहेको उनले बताए ।
घरैपिच्छेजसो डेङ्गु सङ्क्रमित फेला परेपछि स्वास्थ्य शाखाले बजार क्षेत्र तथा आसपासका घरमा औषधि छिट्ने, लामखुट्टे बस्ने सम्भावित स्थानमा सरसफाई गर्नेलगायतको काम गरेको थियो । सोल्टी बजार क्षेत्रमा हार्डवेयर पसलमा बिक्रीका लागि राखिएको पानीको ड्रममा वर्षाको पानी जमेको र त्यही पानीमा सुरक्षितसँग बसेका लामखुट्टेले डेङ्गु फैलाएको हुन सक्ने अनुमान गरिएको छ ।
डेङ्गुले सिकिस्त बनाएका केही बिरामीले काठमाडौँ पुगेर उपचार गराएका छन् । सामान्य अवस्थाका बिरामीले बागमती, हरिवन र बरहथवाका विभिन्न स्वास्थ्य संस्थामा उपचार गराएका छन् ।
बागमती नगरपालिका–८ का वडाध्यक्ष डम्बरबहादुर कार्कीले पहिले झैँ भयावह स्थिति नरहेको जानकारी दिए । तर लामखुट्टे भने अहिले पनि उत्तिकै लागिरहेका वडाध्यक्ष कार्कीको भनाई छ ।
चिसो बढ्दै जाँदा लामखुट्टे हराएपनि घाम लाग्न थालेपछि अत्यधिक मात्रामा लामखुट्टे लाग्ने गरेको स्थानीयले बताएका छन् ।